पहिरोले पुल बगाएपछि गोल्चेवासी समस्यामा

पहिरोले पुल बगाएपछि गोल्चेवासी समस्यामा


सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाअन्तर्गत साविक गोल्चे र गुम्बा गाविस जोड्ने खोलाको पुल बगाउँदा स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ । बुधबार परेको अविरल वर्षाले खोलामाथिबाट आएको पहिरोले पुल बगाउँदा स्थानीवासीले सास्ती भोग्नु परेको छ ।

पुल बगाएसँगै विशेषगरी साविक गोल्चे–१ लिदीका बासिन्दा नाकाबन्दीमा परेका छन् । दैनिक आवश्यक आधारभूतका सामग्री लिन लिदीवासी बगाएको पुल भएको बाटो भएर बजारसम्म आउनुपर्छ । अहिले यो पुल बगाएसँगै लिदीवासीले अर्काे विकल्प खोज्नुपर्ने भएको जिल्ला समन्वय समितिका जुगल गाउँपालिकाका सामाजिक परिचालक फूलकाजी स्याङ्बोले जानकारी दिए ।

‘पुल बगाएपछि अहिले आवतजावत बन्द छ,’ उनले भने, ‘खोलामा फड्केसमेत राख्न सक्ने अवस्थासमेत छैन ।’ बर्खाको खोला ठूलो भएकाले तर्न नसकिने उनले बताए । फूलकाजीकाअनुसार साविकको समयभन्दा झण्डै ६ घण्टा बढी लाग्ने बाटो भएर लिदीबासी बजार जान भने सक्नेछन् । घुमाउरो बाटो धुन्चे हुँदै बजार जानुपर्ने बाध्यता लिदीबासीमा छ । लामो बाटोको पैदल यात्रा जोखिमयूक्त रहेको उनले सुनाए । ‘घुमाउरो बाटोमा पहिरो झरिरन्छ, निकै जोखिम छ ।’ उनले भने । लिदीवासीको प्रमुख बजार साविक बराम्चीको बराम्चीको ढाँडे र कात्तिके बजार हो । यो बजार आइपुग्न लिदीवासीलाई पुल हुँदा पनि तीन घण्टा बढी समय लाग्थ्यो ।

६८ घर धुरी रहेको लिदीमा पुल नबनेसम्म खाद्यान्नको समस्या पर्ने स्थानीयवासी बताउँछन् । पुलले गुम्बाको पांगर्पु जोड्थ्यो । गाउँमा कोही विमारी भए भने निकै समस्या पर्ने स्थानीयको भनाई छ । गोल्चेको लिदी गाउँ जिल्लाकै विकट गाउँ मानिन्छ । यो गाउँमा मात्रै नभई साविक गाविसमा अहिलेसम्म मोटरबाटो पुगेको छैन । लिदीवासी काम विशेषले सदरमुकाम आउनुपर्दा कम्तीमा चार दिन खर्चिनुपर्ने बाध्यता छ ।

– किशोर बुढाथोकी