भ्रष्टाचार न्यूनीकरणका लागि सामुहिक प्रतिबद्धता

भ्रष्टाचार न्यूनीकरणका लागि सामुहिक प्रतिबद्धता


अर्घाखाँची जिल्लाका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा भ्रष्टाचार निर्मुल पार्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन् । जिल्लाको सदरमुकाममा सूचना तथा सुशासन अभियान, सिआईजीले आयोजना गरेको सूचनाको हकसम्बन्धी वृहत समीक्षा तथा वार्षिक साधारणसभामा जिल्लाका सबै राजनीतिक दलको सहभागिता रहेको थियो ।

जिल्लान्यायाधीश केशवप्रसाद बास्तोलाको प्रमुख आतित्यता रहेको सो कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, सितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्य, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल र पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले सूचनाको हकको कार्यान्वयनमा जोड दिँदै भ्रष्टाचार न्यूनीकरणमा आफुहरूको सक्रिय सहभागिता रहने प्रतिबद्धता ब्यक्त भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले सूचनाको हकसम्बन्धी ऐनलाई पूर्ण रूपमा पालना गर्नु सार्वजनिक निकायको कर्तव्य भएको बताउँदै यसलाई निर्वाचित जनप्रतिनिधिहरूले ब्यवहारमा उतारेमा ठुलै उपलब्धि हुने बताउनुभएको थियो । यसैगरी स्थानीय विकास अधिकारी प्रदिप पौडेलले भ्रष्टचारको अन्त्य नभएसम्म सुशासन कल्पना गर्न नसकिने र सबै क्षेत्रवाट सिआईजी अभियानलाई सहयोग हुनुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्लान्यायाधीश केशवप्रसाद वास्तोलाले सिआईजीको खुलेर प्रंशसा गर्नुका साथै सार्वजनिक निकायहरू नागरिक निकाय भएका कारण मागेको सूचना मागेकै स्वरुपमा उपलब्ध गराउनु कानुनसम्मत हुने बताउनुभएको थियो ।

करिव २ सयजनाको सहभागिता रहेको सो कार्यक्रममा सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सिआईजीको आयव्यय र गरेका प्रगतिबारे जानकारी गराउनुको साथै निर्वाचित जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख एवम् सन्धिखर्क नगरपालिकाभित्रका सबै वडाअध्यक्षलाई सूचनाको हक झल्काउने होर्डिङ बोर्ड उपहारसहित सम्मान गरिएको थियो । सम्मानको क्रममा रातो टीका र खादाको प्रयोग नगरी सिद्धेश्वर शिवालय पिठको चन्दन तथा पिठका बटुकहरुबाट स्वस्तिक वाचन गरिएको थियो ।