होला आज सिलवाल-मुद्दाको छिनोफानो ?

होला आज सिलवाल-मुद्दाको छिनोफानो ?


महिनौंदेखि अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्ष नियुक्ति विवादसम्वन्धी मुद्दामा सर्वोच्चले आज बहस सक्दैछ ।

साउन १९ गते सुनुवाइ भई हेर्दाहेर्देमा राखिएको मुद्दाको आज पेसी तोकिएको र मुद्दाको छिनोफानो आजै गर्ने संभावना छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ जारी छ । प्रधानन्यायाधीश पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी सदस्य छन् ।

बिहीबार सरकारका तर्फबाट महान्यायाधिवक्ता र निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिनमात्र बाँकी छ । सरकारले जयबहादुर चन्दलाई आइजिपी बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्यसम्पादन मूल्यांकन र वरिष्ठतामा डिआइजी नवराज सिलवाल अगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो ।

तर, आदेशविपरीत सरकारले चैत २८ गते आइजिपीमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो । यसपछि यो काण्ड निरन्तर अदालतमा छ, अझै फैसला हुन सकेको छैन ।