यो सिस्टममा विकास सम्भव छैन : प्रचण्ड

यो सिस्टममा विकास सम्भव छैन : प्रचण्ड


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक मुद्दा र परिवर्तनका एजेण्डाका दृष्टिले माओवादी अग्रपंक्तिमा हुँदाहँुदै पनि गत निर्वाचनमा परिणाम सन्तोषजनक नआउनुमा पार्टीको संगठन अस्तब्यस्त हुनु नै मुख्य कारण रहेको निष्कर्षमा आफ्नो पार्टी पुगेको स्पष्ट पारेका छन् । बुटवलमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अब संगठन सुदृढीकरणमा माओवादी केन्द्रले जोड दिएको बताए ।

बाबुराम भट्टराई, मोहन वैद्य किरण तथा नेत्रविक्रम चन्द विप्लवसँग एकताको लागि छलफल चलिरहेको र सकारात्मक परिणाम आउन संकेत आफूले पाइरहेको प्रचण्डको भनाई थियो ।

पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले अब गर्न लागिएका प्रदेश तथा केन्द्रको निर्वाचन एकैदिन गर्न सम्भव रहेको दाबी गर्दै एकैदिन चुनाव गर्दा संवैधानिक अप्ठ्यारो पनि नपर्ने बताए । केन्द्र र प्रदेशको समानुपातिक बाकस एउटै बनाएर एकैदिनको चुनाव सम्भव गराइने उनको तर्क थियो ।

प्रदेश र केन्द्रको दुवै निर्वाचन मंसिर पहिलो वा दोश्रो साताभित्रमा हुने जानकारी दिँदै प्रचण्डले चुनावको मिति पनि सम्भवत एक सातापछि नै घोषणा हुने बताए । चुनावपछि एउटा चरणको अध्याय समाप्त हुने र त्यसपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने आवश्यकता उनले औंल्याए । मुलुक विल्कुलै ठीक बाटोमा अघि बढेको र आर्थिक विकासतर्फ केन्द्रीत हुने अवसर जुट्दै गरेको प्रचण्डको दाबी थियो ।

नेपालमा वेष्ट मिनिष्टरी सिष्टमको शासन प्रणाली उपयुक्त नभएको विश्लेषण पनि प्रचण्डले गरे । जनताले विकासको अनुभुति गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको सिष्टममा जानुपर्ने उनले बताए । नेपालमा ०७ सालदेखिको इतिहास हेर्दा अस्थिरता मात्रै रहँदै आएको चर्चा गर्दै १० वर्षमा १० वटा सरकार बन्ने परिपाटीले विकासमा अवरोध गर्ने तर्क प्रचण्डले गरे । ‘संविधान घोषणापछिका ३ वर्षमा तीनवटा सरकार परिवर्तन भए, यसबाट विकास सम्भव छैन, तसर्थ यस्तो सिष्टममा परिवर्तन गर्न शासन प्रणाली बदल्नुपर्छ’ प्रचण्डले भने । पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेवलगायतका नेता बुटबल पुगेका थिए ।

– चन्द्रकान्त खनाल, बुटवल