प्रदेश नं. २ मा पहिलो हुने उपेन्द्रको दाबी

प्रदेश नं. २ मा पहिलो हुने उपेन्द्रको दाबी


प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने निर्वाचनबाट यहाँका सय तह जितेर देशकै पहिलो पार्टी बन्ने नेपाली कांग्रेसका नेताहरुले चाहना दर्शाउनुअघि नै नेकपा (एमाले)को दाबी रहँदै आएको थियो- प्रदेश नम्बर २ मा पनि हामी नै अगाडि हुनेछौँ । यसरी प्रमुख दुई दलको पहिलो बन्ने दाबीलाई उछिन्दै २ नम्बर प्रदेशमा एक नम्बर बनेर देखाउने उदघोष गरेका छन् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने उपेन्द्रको दाबी विहिबार सार्वजनिक भएको हो ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मधेशी जनताको अधिकार सुनिश्चितताका लागि फोरम नेपाल संघर्षरत रहेको र यसबाट फोरम नेपालप्रति मधेशी जनताको विश्वास चुलिएकोले मधेशका आठ जिल्लामा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका हुन् ।

यादवले केन्द्रीकृत राज्यसत्ता र शासन सदियौँदेखि विभेद र उत्पीडनमा पारिएका जनतालाई हस्तान्तरण नगरेकाले पटक–पटक चुनाव गराउँदा मधेशमा ठूलो क्षति पुग्ने गरेको आरोप पनि लगाए। पार्टीको नीति, सिद्धान्त र विचारका कारण विखण्डनकारी शक्ति र साम्प्रदायिक सदभाव भड्काउन चाहने योजनाकार सलबलाउन थालेको परिस्थिति रहेको भन्दै उनले आफूहरु एउटै नेपालभित्र मधेशसहितको राज्यको पक्षमा रहेको प्रष्टिकरण पनि दिए ।

संसफोनेका सप्तरीका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षणकर्ता रुपमा अध्यक्ष उपेन्द्र यादवका अलावा केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेशका संयोजक रेणु यादव र केन्द्रीय उपाध्यक्ष हेमराज राईलगायत उपस्थित थिए ।