रामचन्द्र फर्कंदा प्रचण्ड मख्ख !

रामचन्द्र फर्कंदा प्रचण्ड मख्ख !


केपी ओलीलाई गाली गर्दै एमाले परित्याग गरेका रामचन्द्र झा माओवादी पार्टी प्रवेश गरे । त्यहाँ पनि आफ्नो भविष्य नदेखेर उनी बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी प्रवेश गरेका थिए । तर, बाबुरामकै पार्टीमा भाँडभैलो मच्चिएपछि चतुर रामचन्द्रले अन्ततः माओवादी केन्द्रमै फर्कने निधो गरेका छन् ।

नयाँ शक्तिमा एकपछि अर्को गर्दै वरिष्ठ नेताहरु नै लाखापाखा लाग्ने क्रमले तीव्रता लिएपछि उक्त दलभित्र असन्तुष्टिको आँधी नै चलेको छ । यही लहरमा पार्टीको सह–सयोजकको जिम्मेवारीमा रहेका रामचन्द्र झाले पुनः नेकपा (माओवादी केन्द्र)मै क्रियाशील हुने निर्णय गरेका हुन् ।

झालगायतका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका नेताहरुसँग छलफल शुरु गरेका समाचार केही दिनदेखि नै चर्चामा थियो । यसपछि रामचन्द्र, रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्र फर्कने निधो गरेका हुन् । उनीहरुले तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउने वचन दिएपछि सम्मानका साथ पार्टीमा फर्काउन प्रचण्ड सहमत भएको बताइन्छ । यसअघि झा एमाले प्रवेश गर्ने हल्ला चलेको थियो । तर, उनले यो हल्ला निराधार भन्दै प्रचण्डको साथ रोजेका हुन् । प्रदेश नम्वर २ मा स्थानीय तहको निर्वाचन हुनैलाग्दा मधेसका वरिष्ठ नेताहरु पार्टीमा पुनः फर्केकोमा प्रचण्ड दंग परेको स्रोतले जनाएको छ ।