बिमिस्टेक राष्ट्रबीच खुला व्यापार सम्झौता गर्ने सहमति

बिमिस्टेक राष्ट्रबीच खुला व्यापार सम्झौता गर्ने सहमति


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रबीच खुला व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले तयार गरिएको बिमस्टेक खुला व्यापार सम्झौता शीघ्र सम्पन्न गरिने सम्झौता भएको छ । बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीको काठमाडौँमा सम्पन्न बैठकले बिमस्टेक ग्रिड अन्तरसम्बन्ध स्थापना गर्ने सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएका छन् । उनका अनुसार बैठकले बिमस्टेक सदस्य राष्ट्रबीच प्रविधि हस्तान्तरण गर्नेसम्बन्धी सम्झौतालाई शीघ्र अन्तिमरूप दिने निर्णय गरेको जनाए ।

काठमाडौँमा सम्पन्न बिमस्टेकको १५औँ मन्त्रिस्तरीय बैठकका सम्बन्धमा जानकारी दिदै उपप्रधानमन्त्री समेत रहेका महराले बैठक सफलतापूर्वक सम्पन्न भएको बताउँदै बिमस्टेक सदस्यराष्ट्रबीच व्यापार सहजीकरण गर्ने, पारवहन लगायतका सम्झौतालाई यथाशीघ्र अन्तिमरूप दिने निर्णय भएको बताए ।  उनले भने,‘बैठकले आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर र अनुमोदन गर्नुका साथै सन् २०१२ मा काठमाडौँमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गरिबी निवारण मन्त्रिस्तरीय बैठकले पारित गरेको गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ ।’ बिमस्टेकको कामलाई थप प्रभावकारी बनाउन स्थापना गरिने भनिएका बिमस्टेक केन्द्र (बिमस्टेक ऊर्जा केन्द्र, बिमस्टेक वातावरण केन्द्र र बिमस्टेक संस्कृति केन्द्र) लाई शीघ्र स्थापना गरी काम सञ्चालन गर्ने निर्णय भएको छ ।

बिमस्टेकको भावी कार्ययोजनाका सम्बन्धमा सुझाव तयार गर्न एक प्रबुद्ध समूह यथाशीघ्र गठन गर्ने भएको जानकारी गराउँदै मन्त्री महराले भने,‘बैठकले बिमस्टेकको उच्च अधिकारीको १७ औँ तथा १८ औँ बैठकको प्रतिवेदनलाई अनुमोदन गर्नुका साथै बिमस्टेक सचिवालयको बजेट एवं सचिवालयको प्रशासनिक तथा आर्थिक नियमलगायत सदस्यराष्ट्रबीच व्यापार तथा आर्थिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विभिन्न निर्णय गरेको छ ।’

बैठकले बिमस्टेकको २० औँ वार्षिकोत्सव मनाउने क्रममा बिमस्टेक सचिवालय र सदस्य राष्ट्रले आयोजना गरेका विभिन्न कार्यक्रमको प्रशंसा गर्दै बिमस्टेकका सम्बन्धमा प्रचारप्रसार गर्न थप कार्यक्रमसमेत आयोजना गर्ने निर्णय गरेको उपप्रधानमन्त्री महराले जानकारी दिए मन्त्रिस्तरीय बैठकले गत १६ अक्टोबर २०१६ मा भारतको गोवामा सम्पन्न भएको बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखको रिट्रिट बैठकका निर्णय र सोही बखत पारित भएको १६ बुँदे कार्यान्वयन कार्ययोजनामा भएका उपलब्धिको समीक्षा गर्दै उक्त निर्णयको तत्काल कार्यान्वयन गरिने दाबी उनको रहेको छ ।

नेपालले बिमस्टेकका ऊर्जा मन्त्रिस्तरीय तेस्रो बैठक सन् २०१८ को सुरूमा गर्ने प्रस्ताव गर्नुका साथै बिमस्टेकको चौथो शिखर सम्मेलन सदस्य राष्ट्रसँग सल्लाह गरी सबै सदस्य राष्ट्रलाई अनुकूल हुने मितिमा गर्ने प्रस्ताव गरेको उनले जनाए । यसैबीच, बिमस्टेकका वर्तमान महासचिव सुमित नाकन्दालाको कार्यकाल समाप्त भएकाले यस मन्त्रिस्तरीय बैठकले बंगलादेशका सहिदुल इस्लामलाई बिमस्टेकको महासचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । बिमस्टेक सदस्यराष्ट्रबीच व्यापार प्रवद्र्धन एवं ऊर्जा र पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावना औँल्याउँदै यस क्षेत्रका निजी क्षेत्रको भूमिका र तिनीहरूबीचको महत्व लगायतका विषयमा प्रकाश पार्दै नेपाल उद्योग वाणिज्य महासंघले बैठकसमक्ष एक प्रस्तुतीकरणसमेत गरेको थियो । बैठकमा बिमस्टेक सदस्यराष्ट्र नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका परराष्ट्र र विदेशमन्त्री एवं विदेश राज्यमन्त्री सहभागी थिए ।