राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सचिवालय गठन

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सचिवालय गठन


मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष एवम् ओलम्पियन सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद–२०७५ सचिवालय गठन गरिएको छ । आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्य गर्न अत्यवाश्यक भएकोले हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो ।

सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका सदस्य विनोद मैनाली, राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली रहेका छन् । सचिवालयको सचिवको जिम्मेवारी राखेपका प्रशासकीय अधिकृत इन्द्रबहादुर कार्कीलाई दिइएको छ ।

गत जेठ २० गते बसेको राखेपको १०८ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको थियो । त्यसअघि गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७५ सालमा गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।

त्यत्ति बेला मन्त्रीस्तरीय निर्णय भएकोमा १०८ औं बोर्ड बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको थियो । यदि नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रदेश नं. ५ को बाँके र दाङमा गर्ने निर्णय समेत गरेको थियो ।