यूरोप भ्रमणको रमाइला अनुभूति (भाग १४)

यूरोप भ्रमणको रमाइला अनुभूति (भाग १४)


केही समयको विश्रामपछि हामी यतिबेला कोचभित्र पसिसकेका छौ । हामी अब डोलामाइट पर्वतलाई दाहिने पार्दै अस्ट्रियाको सिमानातर्फ जाँदैछौ । हिमताललाई दाहिने पार्दै समथल भूभागबाट उकालो बनको बाटो हुँदै गाडी आफ्नो तीव्र गतिमा गुडिरहेको थियो । ती बनजंगलभरि हिउँ टन्न भरिएको थियो । माउन्ट डोलामाइटको क्षेत्र नाघेर अहिले हामी अस्ट्रियाको सिमा भित्र आइपुगेका छौ । हामी अष्ट्रियाको पश्चिमी क्षेत्रको भूभाग हुँदै जर्मनीको म्युनिख शहरतर्फ जाँदै थियौं । हाम्रो अष्ट्रियामा वास बसेर भ्रमण गर्ने कार्यक्रम थिएन । तर, दिनको लञ्च भने अष्ट्रियाको सानो शहर स्वातमा खाने योजना थियो । अष्ट्रियाको राजधानी भियना हो । अष्ट्रियाको सीमाभित्र पसेपछि बुरियाले हाम्रो चित्रे, माझगाउँको रामेभाइको बारेमा उनी कहाँ होलान् भनेर सोधिन् । मैले थाहा पाएअनुसार रामेभाइ अष्ट्रियाको पर्यटकीय शहर मेयरहोफेनमा काम गर्थे । त्यसपछि आफ्नो परिवारका सबैजनालाई अष्ट्रिया पुर्‍याएर त्यहाँ राम्रोसंग स्थायीरुपमा बसोबास गर्दै बसेका छन् भनेर उनका बहिनी जुँवाइले भनेका थिए । अष्ट्रियाको मानचित्र झट्ट हेर्दा फ्राइपेन अर्थात् झाँगा जस्तो देखिन्छ । हामी फ्राइपेनको बिँडतिरको भाग अर्थात् त्यो साँगुरिएको भागलाई नाघेर जर्मनीको सीमाभित्र जाँदै थियौं । हामी अष्ट्रियाको मेयरहोफेनलाई दाहिने अर्थात् पुर्वतिर छोड्दै जाँदै थियौं । रामेभाइ आजभन्दा झण्डै ३० वर्षअघि नेपालमा शिक्षण पेशामा संलग्न थिए, तर, पछि त्यो पेशा त्यागेर अष्ट्रिया छिरेर अष्ट्रियालाई आफ्नो कर्मभूमी बनाएका छन् । अष्ट्रिया विश्वयुद्धताका जर्मनीको अधिनमा थियो । दोश्रो विश्वयुद्धका खलनायक एडोल्फ हिटलरको जन्म अष्ट्रियाको ब्राउनाउ भन्ने ठाउँमा भएको हो । ब्राउनाउ अष्ट्रिया र जर्मनीको सीमाक्षेत्रमा पर्ने एउटा सानो गाउँ हो । अष्ट्रियामा जन्मेर जर्मनीको प्रमुख बनेका हिटलर सामान्य परिवारमा जन्मेका थिए । उनी दोश्रो विश्वयुद्धको कारण बनेका थिए । आजभन्दा ७२ वर्ष पहिले सन् १९३९मा दोश्रो विश्वयुद्ध निम्त्याएर अन्तमा आफै आत्महत्या गरेर खरानी बन्न पुगेका थिए ।

अष्ट्रियाले पर्यटकीय व्यावसायमा स्विट्जरल्याण्डले जस्तै विकास गर्दैछिन् । अष्ट्रियाको २० हजार एकड् जमीनमा स्किइङ, बन्जी जम्पिङ, रकक्लाइम्विङ (पर्वतारोहण) जस्ता खेलहरुका प्रशिक्षण र खेलहरु खेलिन्छ । यतिबेला दिनको डेढ बजिरहेको थियो । हामी अष्ट्रियाको भोम्प र स्वात भन्ने गाउँहरुका दोभान भन्नाले बीचभागमा पर्ने राजमार्ग छेउको एउटा रेस्टुरेन्टमा खानाको लागि विश्राम गरिरहेका थियौं । खाना खाएर केहीबेर घुम्यौं । अष्ट्रियाको त्यो भाग अत्यन्त रमणीय थियो । हामीले फोटोहरु खिच्यौं । मेयरहोफेन र भियना घुम्ने विचार जीवनकालमा पछि मौका मिले आउने विचार गरे । तर, अष्ट्रियाको भूभागमा केही समयभए पनि भ्रमण गर्‍यौं भन्ने मनमा सन्तुष्टि प्राप्त भएको थियो । अहिले भ्रमणको क्रममा अष्ट्रिया हाम्रोलागि चौथो राष्ट्र हो । हाम्रो सातवटा यूरोपेली राष्ट्रहरुका भ्रमणमा अष्ट्रिया र बेल्जियममा हामी वास बस्दैनौ, तर, अरु पाँचवटा राष्ट्रहरुमा २, ३ दिनको बसाइ गर्दै भ्रमण गर्ने हाम्रो भ्रमण तालिका थियो । हाम्रो यात्रा सहज र अत्यन्त खुशीको वातावरणमा बितिरहेको थियो कुनै असुविधा भएको थिएन । भ्रमणटोलीका कसैलाई कुनै किसिमको अस्वस्थ अथवा विसञ्चो भएको थिएन । खाना खाएपछि हामी पुनः गाडीभित्र पसिसकेका छौ । हाम्रो यात्रा फेरि शुरु हुँदैछ । गाइड, समी भन्दै थिईन्, “अब हामी ३ घण्टाभित्र म्युनिख पुग्छौ” । हामी अहिले एकदमै राम्रो बाटो हुँदै यात्रा गरिरहेका थियौं । हरियो समथल भूमि, रुखहरु, गाउँहरु र ठाउँ ठाउँमा रेलमार्गमा देखिने व्यवस्थित रेलहरु अनि एकैनासका युरोपेली गाउँहरु उस्तै उस्तै देखिन्थे ।

दिनभरि घाम लागेको थियो, तर, अहिले अकाशमा कालो बादलहरु मडारिन थालेको देखे । भरे साँझ म्युनिख शहर घुम्दा झरीले बित्यास पार्छकि भनेर मैले मनमनै विचार गरे । किनभने म्युनिखमा हाम्रो रातीको बसाइ थियो र भोलिपल्ट सबेरै हामी राइन भ्यालीको लागि यात्रा गर्ने हाम्रो कार्यक्रम थियो । हाम्रो म्युनिख घुम्ने कार्यक्रम साँझको २ घण्टाजतिको मात्र थियो । यतिबेला हामी जर्मनीका फाँटहरु हुँदै म्युनिखतिर लाग्दै थियौं । जर्मनीका फराकिला सडकहरु र भौतिक संरचनाहरु तुलनात्मक हिसाबमा निकै स्तरीय देखिन्थ्यो । अहिले नाजीहरुको राष्ट्रमा सफर गर्दै थिएँ । जर्मनीलाई सम्झदा विश्वयुद्धका घट्नाहरु संझना पुग्छु । मेरो परिवारमा हजुरबा राजमानले प्रथम विश्वयुद्ध लडेका थिए र बुवा, श्रीप्रसादले हिटलरको सेनाको विरुद्ध यही इटाली र अष्ट्रियाको सिमानामा लर्डाई लडेका थिए । बुवा दुश्मनको चौकीमाथि चढाइ गर्न जाँदा बमको चोइटा खुट्टामा लागेर र्घाईते भएका थिए र उनलाई इटालीको फौजी अस्पतालमा उहाँको उपचार भएको कुरा उहाँले भन्नुभएको थियो । हजुरबा र बुवाले युद्ध लडेका क्षेत्रहरु पारहुँदै जाँदा प्रथम र दोश्रो विश्वयुद्धले ल्याएका मृत्युहरु र जिजीविषाबारे सोच्न पुगेछु । हजारौ नेपालीका छोराहरु त्यो महासमरमा बलि बन्न पुगेका थिए । यो महासमरमा कैयौंका काख रित्तिए भने कैयौंका सिउँदो उजाड भएको थियो । यति मात्र नभई अनाहकमा हजारौ अपांग भएर जीवन बिताउनु परेका थिए बिना कुनै मुआवजा । म्युनिखको बारेमा कल्पना गर्दा पीसा, फ्लोरेन्स र भेनिसमा जस्ता ऐतिहासिक धरोहरहरु नभई नाजीकाल र हिटलरको बरबरतामा रंगिएका भवन र स्तम्भहरु होलान् भनेर सोच्दै थिएँ ।

स्थानीय समयअनुसार दिनको साढे चारबजे हामी म्युनिख पुग्यौं । अघि नै मैले पानी पर्लाजस्तो छनक् दिएको थिएँ साँच्चै नै अहिले हल्का बुँदाबँुदी पर्न शुरु भइसकेको थियो । मनमा अब म्युनिखको छोटो घुमाइमा पानीले अवरोध गर्नेभो भन्ने आशंका उत्पन्न भयो । हामी छिटो-छिटो होटलभित्र समानहरु लिएर गयौं । यहाँ पनि हामी मेकोनमा बसेका होटल इबीसको अर्को शाखामा नै वास बस्दै थियौं अर्थात् होटलको नाम इबीस नै थियो । मैले ५१६ नम्बरको कोठाको चाबी पाएँ । समी भन्दै थिईन्, “छिटो-छिटो तयार भएर ५ बजे होटलको लबीमा आउनुहोला, समय छोटो छ” । सबैजना सुट्केशहरु घिसार्दै आ-आफ्नो कोठातर्फ लागे । सबैजना समीले भने बमोजिम ५ बजे लबीमा जमा भयौं । एकजना मार्को नाम गरेको जर्मनी गाइड तीन घण्टाको लागि म्युनिख शहर भ्रमण गराउनकालागि खटाइएको रहेछ । हामी त्यहाँ भेला हुनेबित्तिकै धारावाहिक अंग्रेजीमा आफ्नो परिचय दिएर म्युनिखको बारेमा बताउँदै आफ्नो पछि-पछि आउनलाई अनुरोध गरे । अलि-अलि पानी पदैथियो, तर, हाम्रो म्युनिख घुम्ने आकांक्षालाई पानीले छेक्ने कुरा नै थिएन । बीच-बीचमा रोकिइँदै हल्का सिमसिमे पानीभित्र हामी म्युनिख घुम्दै थियौं । बेलुकि भएको कारणले त्यसमाथि हल्का पानी परेकोले गर्दा अलि-अलि जाडो लागिरहेको थियो । छोटो भ्रमणमा म्युनिख शहरको मुख्य टाउन सेन्टर र केही ऐतिहासिक महत्वको ठाउँहरु मात्र हेर्ने कुरा गाइडले भनेका थिए । यस शहरमा धेरै साइकिल यात्रीहरु हुँदारहेछन् । पैदल, साइकिल, बस र ट्रलीबसका आ-आफ्नै फराकिला बाटोहरु निर्माण गरेका रहेछन् । हामीलाई गाइडले साइकिलको ट्रेकमा नहिँड्नलाई सचेत गरे, कारण जर्मनीहरुले साइकिल चलाएर आउँदा साइकिल ट्रेकमा हिँडिरहेकाहरुलाई वास्ता नगरी हानेर हिँड्छन् भनेर गाइडले सचेत गराएका थिए । बाटोमा कसैलाई छेकेर उभिँदा धक्का दिएर हिंड्ने खरो मिजास भएका जर्मनीहरुको म्युनिख शहरमा हामी सतर्क भएर हिँडिरहेका थियौं । हामीलाई गाइडले एउटा ठूलो भवनको अघि लगेर त्यस भवनको ऐतिहासिकपक्ष भन्न थालेका थिए । हामी फोटो खिच्दै गाइडका कुराहरु सुनिरहेका थियौं । जुन भवनको अघि हामी उभिएका थियौं त्यस भवनलाई जस्टिस प्यालेस अर्थात् न्यायको महल भन्दो रहेछ ।

एडोल्फ हिटलर जर्मन प्रमुख भएपछि गैर जर्मनी विशेषगरी यहुदी र जिप्सीहरु उपर नाजी अत्याचार लादिएको थियो । यसै भवनबाट नाजी र हिटलरको अत्यचार विरुद्ध अवाज उठाएका व्यक्तित्वहरुका सम्झनामा यसलाई पछि जस्टिस प्यालेसको नाम दिएको रहेछ । त्यसै भवनबाट २ जना विधार्थीहरुले -दिदी र भाइ) पहिलोचोटि नाजीका विरुद्ध अवाज उठाएका थिए र आफुहरु श्ाहिद भएर कैयौं विधार्थीहरुलाई बचाएका थिए । म्युनिख शहर दोश्रो विश्वयुद्धताका नाजीहरुको प्रमुख सैनिक मुख्यालय रहेछ । मित्र राष्ट्रहरुले यस शहरलाई ७२ पल्ट हवाइ आक्रमण गरेर ध्वस्त पारेका रहेछन् । ७२ पल्टको हवाइ आक्रमणमा केवल ३ वटा गिरजाघरहरुलाई छाडेर शहरका तमाम भवनहरु धुलोमा मिलाएका रहेछन् । जतिपटक आक्रमण गरेतापनि यस शहरलाई पुनरनिर्माण गर्दै आएको रहेछ । विश्वयुद्धताका यस शहरमा यहुदीहरुको ठूलो संख्या बसोबास गर्दै आएका रहेछन् । इतिहासमा हिटलरले गरेका हत्यकाण्ड होलोकाष्टको बारेमा विश्व अनभिज्ञ छैनन् । यस हत्यकाण्डमा सबैभन्दा क्षति यहुदी समुदायले भोग्नुपरेको थियो । होलोकाष्टमा मारिएका ६० लाखमध्ये तीनभागको २ भाग यहुदीहरु थिए । नाजीहरुको होलोकाष्टमा यहुदीहरु, जिप्सीहरु (बनजाराहरु) र समलिंगीहरुलाई समुल नष्ट याने कि हत्या गरेर शुद्ध जर्मनीहरुको देश बनाउने हिटलरको उद्देश्य रहेको थियो । इतिहासकारहरुले. होलोकाष्टको हत्याकाण्डमा दोश्रो विश्वयुद्धभरि हजारौ युद्धबन्दीहरुलगायत लगभग एककरोड मानिसहरु हत्या गरिएको थियो भनेर उल्लेख गरेका छन् । यस्तै नरसंहारको कुरा गर्दा हिटलर मात्र नभई रुसमा स्टालिनको बेलामा र चीनका माओत्से तुंगले सांस्कृतिक क्रान्तिको बेलामा गरेका नरसंहार होलोकाष्टभन्दा बढी रहेको थियो भनेर इतिहासविदहरु बताउँछन् । हामी जस्टिस प्यालेसबाट शहरको दक्षिणपूर्व हुँदै टाउनसेन्टरतर्फ लाग्यौं । त्यहाँ ठूलठूला भवनहरु थिए । हामीलाई गाइडले यहुदीहरुको मुख्य केन्द्र सिनेगालमा लगेर गए ।

हिटलर जर्मन प्रमुख हुनुअघि सिनेगाल पछाडिको एउटा थिएटरमा बेला-बेलामा मनोरञ्जनकालागि शो हेर्न आउँथे रे त्यतिबेला उनलाई त्यो यहुदीहरुका केन्द्र सिनेगाल देख्दा घृणाले अत्यधिक रिस उठ्थ्यो रे भन्ने भनाइ गाइडको थियो । जर्मन प्रमुख भएपछि सबैभन्दा पहिले यहाँ रहेको सिनेगाल ध्वस्त पार्न लगाएका थिए । त्यसपछि हिटलरले यहुदीहरुका संहार गर्ने योजना बनाएका थिए । सिनेगाल रहेको ठाउँलाई प्रसिद्ध जर्मन कार कम्पनी बीएमडब्ल्यूले त्यो जग्गा त्यसै हडपेको थियो भनिन्छ र यहुदी समुदायलाई बीएमडब्ल्युले एकपैसा पनि दिएको छैन भनेर गाइडले उद्धृत गरेका थिए । जर्मन कार कम्पनी बीएमडब्ल्युले सन् १९२९मा कार उत्पादन गर्ने कार्य थालनी गरेपछि बिलियन पाउण्डको मुनाफा गरिसकेको छ । तर, यहुदीहरुबाट हडपेको जग्गाको मुआवजा दिएको छैन । जर्मन सरकारले अहिले सिनेगाल अगाडि यहुदीहरुका स्मरणमा एउटा यहुदीहरुका प्रतीक स्तम्भ खडा गरेको छ ।

हामी त्यस ठाउँमा केहीबेर गाइडले भनेको इतिहास सुनेपछि हामी एउटा ठूलो गिर्जाघरतर्फ लाग्यौं जहाँ एकैपल्टमा बीसहजार मानिसहरु अटाउने क्षमता राख्दछ । यो गिरजाघरलाई १३औ शताब्दीमा निर्माण गरेको रहेछ । विश्वयुद्धताका यस गिरजाघरलाई मित्रराष्ट्रका सैनिक कमानले हवाइजहाजका पायलटहरुलाई ध्वस्त नगर्ने आदेश दिएको थियो । अतः लडाकु विमानहरुले हमला गरेर ध्वस्त गरेनन् । शहरको अरुभागमा बमबारी गर्दा यसको पछिल्लो भागको एउटा हिस्सामा क्षति भएको रहेछ । यसलाई खृष्टियन धर्ममा अस्था राख्ने एकजनाले परमेश्वरको कृपाले ध्वंस हुनुबाट बचेको भनेर यस गिरजाघरको टावरको पर्खालमा एउटा सक्कली सुनको इँटा चढाइएका छन् जुनचाँहि बाहिरबाट नै प्रष्ट देखिन्छ । यस गिरजाघरको एक कुनामा म्युनिख शहरको धातुबाट तयार पारेको ढाँचा राखिएको छ । हामी टाउन सेन्टरमा पुग्दा पानी निकै गतिलो पाराले पर्नथाल्यो, एकछिनको लागि ओत लागेर टाउनसेन्टरको विशाल भवनको अघि उभियौं । त्यहाँ मूर्तिहरुको आकृति बनाएर कहिलेबाट जर्मनीमा बियर भित्रियो अनि जर्मनी बियरको लागि कसरी प्रसिद्ध भयो भन्ने कलात्मक ऐतिहासिक बृतान्त भवनका भित्ताहरुमा निर्माण गरेर उल्लेख गरिएको रहेछ । जर्मनी बियरको लागि प्रसिद्ध छ । १४औ शताब्दीमा बबुनिया प्लागले आधाभन्दा बढी जर्मनीहरु सखाप भएका रहेछन् त्यतिबेला बियर जर्मनीमा भित्रिएको रहेछ र बियरको सेवनपछि मानिसहरु स्वस्थ्य भएका रहेछन् । त्यसबेलादेखि बियरको सेवन र उत्पादनले जर्मनीमा प्रमुखता पाएको रहेछ । विश्वको सबैभन्दा ठूलो अक्टोबरफेस्ट बियर मेला जर्मनीमा वर्षेनी हुने गर्दछ । धन्यवाद … फेरि अर्को श्रृंखलामा भेटौला ।