उद्धार कार्यमा सेनाको सक्रियता

उद्धार कार्यमा सेनाको सक्रियता


अविरल वर्षाको कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षति न्युनीकरण एवम् खोज, उद्धार र राहतको लागि नेपाली सेनाका करिव दुई हजार एक सय जनाको उद्धार टोली विभिन्न समूहमा बाँडिएर आवश्यक उद्धार सामाग्रीसहित निरन्तर सक्रिय रहेको नेपाली सेनाले जनाएको छ ।

आइतबार झापा जिल्लामा खटिएको सेनाको उद्धार टोलीले सिवसतासी नगरपालिका–४ मा डुवानमा परेका २ सय ६८ जना र सुनसरीमा खटिएको टोलीले त्यहाँक विभिन्न स्थानमा डुवानमा परेका ५ सय ५० जनालाई सुरक्षित स्थानमा सारेको थियो । आइतबार मात्र देशभरिका विभिन्न स्थानमा डुवानमा परेका एक हजार भन्दा बढी बाढीपीडितलाई नेपाली सेनाले सुरक्षित स्थानमा सार्न मद्दत गरेको बताइएको छ ।

त्यसैगरी, सेनाको बारामा खटिएको उद्धार टोलीले लालबकैया खोलामा बाँध निर्माणमा सहयोग गर्नुको साथै चुरियामाई ईलाका र मकवानपुर जिल्लामा तैनाथ युनिटबाट खटिएका उद्धार टोलीले भीमफेदी (गुप्तेश्वर) इलाकामा पहिरोबाट अवरुद्ध भएको सडक खुलाउने कार्य गर्नुको साथै चितवनको जगतपुर इलाकामा फसेका करिव तीन सय विद्यार्थीलाई हेलिकप्टरबाट उद्धार गरेको थियो ।

खोज तथा उद्धारकै क्रममा बाँके जिल्लामा तैनाथ युनिटबाट खटिएका सेनाको टोलीले डुवानका कारण विस्थापित भएका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा मद्दत गर्नुको साथै बैजपुर र फत्तेपुरलगायत इलाकामा खाद्य सामाग्री वितरण गरेको छ भने सल्यानमा खटिएको टोलीले पहिरोमा पुरिएको गाडीबाट एकजनाको शव निकाल्न सहयोग गरेको थियो ।

यस अलावा पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सिन्धुली, पाल्पा, नवलपरासी, बर्दिया, दाङ लगायतका जिल्लाहरुमा उद्धारका सामग्रीसहितको नेपाली सेनाका टोली खटिएर खोज, उद्धार तथा राहत कार्यमा जुटिरहेको सेनाले जनाएको छ ।