लण्डन । हिजो वैज्ञानिकहरुले हावापानीको परिवर्तन र विश्वमा तापक्रम बढ्दै गइरहेकोले गर्दा यस ग्रहका प्राणीहरु र उद्भिद्हरु खुम्चिँदै अकारहरु सानो हुँदै लोपोन्मुखतिर गइरहेको कुरा सम्प्रेषण गर्दै चेतावनी दिएका छन् । कलिलो अवस्थाको हुर्कने क्रममा बढी तापक्रम र सुक्खाका कारणबाट उद्भिद्हरु बढ्न पाउँदैनन्, जसले गर्दा तिनीहरुका आकार खुम्चिँदै सानो बन्न थालेका छन् भनेर विज्ञहरुले बताएका छन् । उत्तरी ध्रुवका श्वेत भालुहरु बरफका समुन्द्रहरु पग्लिएर जान थालेपछि संख्यात्मक र आकारको हिसाबमा घट्दै गइरहेका छन् । त्यस्तै कैयौं प्रजातिका घाँसहरु, रुखपातहरु, भ्यागुताहरु, कछुवाहरु, जंगलीमुसा, रातो हिरन, ठूलोखाले गिद्धहरु र यूरोपमा पाइने पखेटाहरु चुच्चो आकार भएको एकखाले चराहरुका आकारहरु सानो बन्दै गइरहेको कुरा अध्ययनले जनाएको छ ।
यस्तै हिसाबमा विश्व तापक्रम बद्दै जलवायुमा परिवर्तन हुँदै गए संसारभरि बढ्दै गइरहेका अरबौ मानिसहरुलाई धान्न गाह्रो हुनेछ, साथै खाने कुराहरु ह्रास हुँदै गएपछि मानिसहरुका आकारमा पनि प्रभाव पर्ने कुरा प्रतिवेदनमा जनाएको छ । संसारको वातावरणीय पक्ष सुरक्षित नहुँदा जलवायुमा नकारात्मक प्रभाव परेकोले मानवजातिमा ठूलो संकट आउने कुरा प्रतिवेदनले औंल्याएको छ । आकार खुम्चिएर सानो बन्दै जाने विषयमा अध्ययनले चिसो रगत अर्थात् कोल्ड ब्लड भएका प्राणीहरु बढी प्रभावित हुने कुरा जनाएको छ । सन् २१०० साल सम्म ७ डिग्री सेल्सियस तापक्रम बढेर जानेकुरा उल्लेख गरेको छ । यसरी तापक्रम बढ्दै जाँदा १७ प्रतिशत प्राणीलगायत उद्भिद्हरुका आकार सानो हुने तथा माछाहरुका आकारमा २२ प्रतिशत ह्रास आउने जनाएको छ । एक अरबभन्दा बढी मानिसहरुलाई समुन्द्रबाट प्राप्त गर्ने ससानो माछाहरुबाट प्राप्त प्रोटिनको कमी हुन सक्ने अन्दाज गरेको छ । त्यस्तै सन् २०५० सालसम्म अरबौ मानिसहरुको बृद्धि यस ग्रहमा हुनेछ र त्यसका लागि खडेरी र सुक्खाको कारणले गर्दा अनाज उत्पादनमा पनि ह्रास आउने वैज्ञानिकहरुले बताएका छन् । यी तथ्यहरु एउटा समूह, सिंगापुरमा अनुसन्धानरत् वैज्ञानिकहरुले नेचर क्लाइमेट चेन्जमा दिएका हुन । श्रोत -नेट, सुमल, मेस ।
प्रतिक्रिया