झापामा यस्तो छ बाढीको प्रभाव

झापामा यस्तो छ बाढीको प्रभाव


रेजिना गौतम

चार दिनसम्म अविरल आएको बाढीबाट झापाका १३ स्थानीय तह प्रभावित भएका छन् । १५ वटा स्थानीय तह रहेको झापाका आठ नगरपालिका मध्ये सात नगरपालिका र सात गाउँपालिका मध्ये ६ गाउँपालिका प्रभावित भएका हुन् ।

नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त तथ्याङ्क अनुसार मध्यभद्रपुर, दमक, मेचीनगर, विर्तामोड, कन्काइ, गौरादह र शिवसताक्षी नगरपालिका प्रभावित भएका छन् । त्यसैगरी कचनकवल, झापा, गौरिगञ्ज, बाह्रदशी कमल र हल्दिवारी गाउँपालिका बढी प्रभावित हुनेमा परेका छन् ।

बाढीबाट १२ परिवारको पूर्ण क्षति भएको छ भने १ हजार ८९६ परिवार विस्थापित हुँदा २ हजार १९ परिवार प्रभावित भएको रेडक्रस झापाले जनाएको छ । बाढीमा परी झापामा ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा झापागाउँपालिका सडकबारीकी धनमाया घोर्सैने, पहिचान नखुलेका २ जना, झापा गाउँपालिका–७ सिमलावाडीकी कमला दर्लामी र उनकी छोरी खुशी दर्लामी, झापा गापा–४ का कुल्सन खातुन कचनकवल–३ डाँगीबारीका राम राजवंशी, शिवसताक्षी–१ राजवंशीचौकका विजय पाण्डे, दमक नगरपालिका–५मा फर्निचरमा कार्यरत तपोष मण्डल, हल्दिवारी–१ गोलघापका चम्पामणि सतार र कमल गाउँपालिका–५ का दिवस राई रहेका रेडक्रसले जनाएको छ ।

बाढीबाट वेपत्ता भएका चारजनाको अवस्था अझै अनिश्चित छ भने झापा गाउँपालिका–२ की कमला घोर्सैने, कलिप्रसाद राजवंशी परिवारसहित ४ जनाको अवस्था पनि अझै पत्ता लाग्न सकेको छैन । बाढीबाट विस्थापित भएका परिवारलाई सोमबार रेडक्रससहित विभिन्न संघ संस्थाले राहत वितरण गरेका छन् । रेडक्रसले भद्रपुर नगरपालिका, झापा गाउँपालिका, हल्दिवारी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, विर्तामोड नगरपालिका र कन्काई नगरपालिकाका विस्थापित परिवारलाई त्रिपाल, कम्बल र म्याट वितरण गरेको छ ।