पहाडी जिल्लाबाट खाद्यान्न-लत्ताकपडा लैजाने काम जारी : गृहमन्त्री

पहाडी जिल्लाबाट खाद्यान्न-लत्ताकपडा लैजाने काम जारी : गृहमन्त्री


गृहमन्त्री जर्नादन शर्माले तराई क्षेत्रमा डुवानमा परेका क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको बताएका छन । व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै उनले केहिदिनदेखिको अविरल वर्षापछिको बाढी र डुवानमा परी एक सय ११ जनाको मृत्यु भएको जनाएका छन । बाढी र डुवानमा परी ३५ जना वेपत्ता भएका छन् भने हजारौँ घरपरिवार बिस्थापित भएका छन् ।

सरकारले मृतकका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाका दरले राहत दिने,सामान्य क्षति भएको घर मर्मतका लागि तत्काल १० हजार रुपैया दिने र पूर्णरुपमा क्षति भएकाहरुको बारे अध्ययन गरेर क्षतिपूर्ति दिने निर्णय गरेको गृहमन्त्रीले बताए । बाढीले गर्दा तराई क्षेत्रमा भयावह स्थिति उत्पन्न भएको मन्त्री शर्माले बताए । उनले भने,‘ दशौँ हजार घर डुवानमा छन् । हजारौँ मानिस बिचल्लीमा छन् ।

उद्धारकर्ता नै डुवानमा परेको अवस्था छ । बाढी सुरु भएदेखि नै ब्यारेकबाट निस्केर उद्धारकार्यमा सुरक्षाकर्मी लागेका छन् । स्थानीय जनप्रतिनिधि र युवाहरुले उद्धार गरिरहेका छन् ।’ बाढी प्रभावित क्षेत्र सञ्चार सुविधाबाट बञ्चित भएको र टेलिफोनको टावर मर्मत तथा विद्युत प्रवाहलाई व्यवस्थित पार्न लागिपरेको बताए ।

पहाडी जिल्लाबाट खाद्यान्न तथा लत्ताकपडा लैजाने काम भइरहेको उनले बताए । गृहमन्त्री शर्माले भने,‘ घर,सडक,पुल भत्किने क्रम निरन्तर भएकाले भौतिक योजना तथा निर्माण मन्त्रालयबाट निरन्तर काम भइरहेको छ । सरकार अहोरात्र खटिरहेको छ । स्वास्थ्य टोलीहरु पठाउने काम भइरहेको छ ।