आँगनमै दाहसंस्कार !

आँगनमै दाहसंस्कार !


बाढीले जनधनको नास गरेका कुरा त अब सामान्य लाग्न थालेको छ । किनकि, जनधनको क्षतिले भन्दा पनि बढ्ता हृदयविदारक परिघटना बाढी प्रकोपकै बीच भएका छन् । मृतक बालकलाई गाड्ने जमिन नपाएर खोलामै सेलाउनु (बगाउनु) परेको मन रुवाउने घटनाको चर्चाकै बीच महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको घटना प्रकाशमा आएको छ ।

जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीको हृदयाघातबाट मृत्यु भएपछि उनका छोराहरुले अन्य विकल्प नभेटेर आँगनमै दाहसंस्कार गरेका हुन् । गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बाबुको मृत शरीरलाई आँगनमै जलाएका स्थानीय ललित चौधरीले सार्वजनिक गरेका हुन् । घरबाट निस्कने अवस्था नरहेको र गाउँको कुनै पनि ठाउँ वा वनजंगल समेत सुख्खा नरहेको अवस्थाका कारण विचलित हुँदै मृतकका तीन भाइ छोराले आपसी सल्लाह गरी मृतक बाबु रामेश्वरलाई आँगनमै जलाएका उनले जानकारी दिए ।