छिमेकीका विरुद्ध नेपाली भूमि प्रयोग नहुने

छिमेकीका विरुद्ध नेपाली भूमि प्रयोग नहुने


चीनका उपप्रधानमन्त्री वाङ याङले नेपाली नेताहरुलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश सुनाएका छन् । याङले ओबिओआर लगायत पछिल्लो समय नेपाल र चीनबीच भएका सम्झौताहरुले नेपाल–चीन सम्बन्धलाई थप उचाई दिएको बताउँदै नेपालको चासोंप्रति चीन सधैं सकारात्मक रहेको जानकारी दिएका छन् ।

नेपाली नेताहरुसँगको भेटमा याङले चीनियाँ राष्ट्रपतिको सन्देश बोकेर आफू नेपाल आएको बताउँदै नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा चीन लगानी गर्न इच्छुक रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र उपप्रधानमन्त्रीको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधि मण्डलबीच मंगलबार दिउँसो काठमाडौंको सोल्टी होटलमा द्वीपक्षीय वार्तामा नेपाल–चीनको आपसी सद्भाव, पूर्वाधार विकास र नेपालमा चीनियाँ लगानीका विषयमा कुराकानी भएको सो पार्टीले माओवादीका एक नेताले जनाएका छन ।

चीन र नेपालबीच वान बेल्ट वान रोड (ओबिओआर) मा भएको हस्ताक्षर महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र चीन र भारत दुवै छिमेकीसँग सन्तुलित र समदुरीको सम्बन्ध राख्न चाहेको जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कालमा भएको आफ्नो चीन भ्रमण नेपाल र चीनको सम्बन्ध सुदृढीकरण र पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण रहेको बताए।

नेपाल एक चीन नीतिको पक्षमा रहेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले कुनै पनि छिमेकीका विरुद्ध नेपाली भूमि प्रयोग नहुने बताए । अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चीनियाँ कम्युनिष्ट पार्टीबीच वैचारिक र भावनात्मक सम्बन्ध रहेको बताउँदै चीनियाँ कम्युनिष्ट पार्टीका अनुभवहरु माओवादी केन्द्रको राजनीतिक दिशाका लागि पनि महत्वपूर्ण रहेको बताए ।

वार्तामा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, टोप बहादुर रायमाझी, मातृका यादव, अग्निप्रसाद सापकोटा, शक्ति बहादुर बस्नेत, पम्फा भूसाल, मणि थापा सहभागी थिए ।