कास्कीमा जिल्ला प्रहरी प्रमुखको रुपमा एसपी अशोक सिंह खटिएर गएको सात दिन नबित्दै जुवाडेहरूलाई ठाउँका ठाउँ पक्रिएर कानुनी कारवाही गर्ने अभियान व्यापक रुपमा अगाडि बढेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले विभिन्न स्थानमा जुवातास खेलिरहेका दर्जनौं व्यक्ति नगद सहित पक्राउ गरेको छ । दश लाख पैंसठ्ठी हजार रुपैयाँ नगदसहिद जुवाडे टोली पक्राउ परेको भोलिपल्टै मङ्गलबार महानगरको वडा नं. ७ रत्नचोकस्थित भुपु एपीएफ खाजाघरबाट जुवाडेहरु अर्जुन घर्ति, खुम गुरुङ, विनोद थापा, होतबहादुर खत्री, दिनेश कार्की, चन्द्र नेपाली, नारायण पोखरेल, ईश्वर थापा, ललन गुप्ता र गणेश बस्नेत नगद सहित पक्राउ परेका छन् ।
त्यसैगरी फुलवारीस्थित दुर्गा बहादुर पुनको घरमा जुवा खेलिरहेका दुर्गा पुन समेत चन्द्र थापा, भविसा पुन, कृष्ण पुन, सिसामति घर्ति मगर, रामचन्द्र पुन र कमल पुनलाई पनि प्रहरीले नगद सहित आज मङ्गलबार नै नियन्त्रणमा लिएको छ । गत सोमबार (साउन ३० गते) महानगरको वडा न.ं १०, महेन्द्र पुलस्थित भुपेन्द्र हिराचनको घरको पाँचौं तलाबाट ७६ वर्षीय जुवाडे जुल्फा जोहार चन सहित भुपेन्द्र हिराचन, भिमबहादुर तिमल्सेना, यज्ञकुमार गौचन, नविन गौचन, ठाकुरप्रसाद गुरुङ, संगीता गुरुङ र कृष्णकुमार गुरुङ पक्राउ परेका छन् । निजहरुको साथबाट प्रहरीले दश लाख पैंसठ्ठी हजार रुपैयाँ पनि बरामद गरेको छ ।
प्रहरी प्रमुख सिंहले पोखरालाई गुण्डागर्दी र जुवातास मुक्त गर्ने अभियान चलाएपछि यतिबेला पोखरामा सिंहको प्रशंसा हुन थालेको छ भने गुण्डागर्दी र जुवातासमा संलग्न हुनेहरुको भागदौड सुरु भएको छ ।
प्रतिक्रिया