पर्यटकीयस्थल रानीमहल ओझेलमा

पर्यटकीयस्थल रानीमहल ओझेलमा


नेपालको ऐतिहासिक पर्यटकीयस्थल रानीमहलसम्म पुग्ने तानसेन रानीघाट सडकको अवस्था सुधार नहुँदा पर्यटक आवागमनमा पातलिँदै गएको छ । जिल्ला सदरमुकाम तानसेनबाट करिब १२ किलोमिटरको दूरीमा उत्तरमा पर्ने पर्यटकीय रानीमहलसम्म पुग्ने सडक पिच तथा मर्मत गर्ने कार्य अहिले अलपत्र अवस्थामा रहेको छ । जसले गर्दा त्यहाँसम्म पुग्ने सडक नियमित सञ्चालन नहँुदा रानीमहल घुम्न पाल्पा आउने पर्यटक सदरमुकाम तानसेनबाटै फर्कन बाध्य छन् ।

यस सडक निर्माण कार्य एक महिनायता ठप्प रहँदा पर्यटक एवं यस सडकखण्ड भएर आवतजावत गर्ने स्थानीय मारमा परेका छन् । सडक पिच गर्ने कार्य भइरहेको र अहिले वर्षात्का कारण निर्माण कार्य प्रभावित हँुदा सवारीसाधन नियमित सञ्चालन हुन सकिरहेको छैन ।

सो सडकखण्डअन्तर्गत पर्ने साँघु खोलामा ठेकेदारले मनपरि ढुंगा निकालेपछि सवारीसाधन सञ्चालनमा समस्या झन थपिएको हो । यस खोलाबाट मनपरि ढुंगा निकाल्दा खाल्डो पर्दै गएपछि रानीमहलसम्म पुग्ने पर्यटकलाई वारपार गर्नसक्ने अवस्था छैन ।

लामो समयसम्मको निरन्तर वर्षाले काम गर्ने वातावरण अनुकूल नभएको ठेकेदार सुरेन्द्र लम्साल बताउनुहुन्छ । साँघु खोलामा परेको खाल्डोलाई पुनः जाली भर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । आउँदो भदौसम्म सक्नुपर्ने योजना भए पनि एक महिनायता वर्षाका कारण काम प्रभावित हँुदा तोकिएको समयमा सम्पन्न गर्न समस्या परेको उहाँ बताउनुहुन्छ ।

रसुवा एसबिए जेभी कम्पनीसँग २०७१ असारमा र अन्य केही कम्पनीसँग सम्झौता गरी झण्डै रु २२ करोडको लागतमा सडक निर्माण तथा स्तरोन्नति कार्य थालिएको हो । कम्पनीले विभिन्न ठेकेदारलाई खण्डखण्डमा ठेक्का दिएका कारण काम पनि गुणस्तरीय देखिँदैन ।

तोकिएको समयमा काम सम्पन्न नहुने भएपछि पुनःछ महिनाका लागि म्याद थप गरेर काम पुनःसञ्चालन गरिएको थियो । त्यो समय अवधिभित्र पनि काम सम्पन्न नहुने भएको छ । पटकपटक म्याद थप गरिरहँदा काम सम्पन्न हुन्छ या हुँदैन भन्ने निश्चित छैन ।

रानीमहलसम्म पुग्ने अवरुद्ध सडक खुलाउने प्रयासमा भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्य बताउनुहुन्छ । कामबीचमै रोकेर अलपत्र पार्नुभन्दा पुनःम्याद थपेरै भए पनि काम सम्पन्न गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तानसेन रानीघाट मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष पोषकान्त बस्यालले समय र परिस्थितिलाई ख्याल नगरी काम गर्दा अहिले सडकको अवस्था सुधारोन्मुखका सट्टा नाजुक बन्दै गएको बताउनुभयो । सडक निर्माण गर्ने अधिकार ठेकेदारमा निहित हुने भएकाले स्थानीयसँग समन्वय नगरिकन सडक निर्माण तथा मर्मत गर्दा अहिले धेरैले सास्ती खेप्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

सडक पिच गर्ने कार्य भइरहेको यस सडकखण्डमा लगातारको वर्षाले पहिरो खस्नुका साथै पर्खाल, नाली भत्किएको छ । यहाँ एक महिनासम्म सडक सञ्चालन नहुँदा जिल्लामा भित्रने पर्यटकको चहलपहलमा कमी आएको पाइएको छ । नेपालकै प्रसिद्ध र ताजमहलका नामले चिनिने यस रानीघाटमा दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रने गर्छन् रासस