एमाले–माओवादी गठबन्धनको भयले सभापतिलाई सताएपछि…

एमाले–माओवादी गठबन्धनको भयले सभापतिलाई सताएपछि…


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेपछि पत्रकार महासङ्घको अध्यक्ष माओवादीलाई दिने निर्णय लिनुभएको छ । माओवादीसँगको सहकार्यलाई अझै मजबुत बनाउने र नेकपा एमालेलाई देशका हरेक ‘स्थान’बाट ‘सफाया’ गर्ने योजनाअनुसार महासङ्घको अध्यक्षमा काङ्ग्रेसले माओवादीलाई समर्थन गर्ने भएको हो ।

काङ्ग्रेससमर्थित प्रेस युनियनका नेताहरू बद्री सिग्देल, पोषण केसी, अनिता बिन्दु, समीरजंग शाह, विपुल पोखरेल, रामप्रसाद दाहाललगायतले पत्रकार महासङ्घको अध्यक्षमा उम्मेदवारी दिने आकाङ्क्षा राखेका थिए । उल्लिखित नामहरूमध्ये पोषण केसी, अनिता बिन्दु र बद्री सिग्देललाई तुलनात्मक रूपमा बलियो पनि मानिन्छ । काङ्ग्रेसले महासङ्घ अध्यक्षको उम्मेदवार निर्धारण गर्ने जिम्मेवारी नेता डा. प्रकाशशरण महतलाई दिएको थियो । डा. महत उपयुक्त उम्मेदवार चयनका निम्ति पत्रकारिता क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिसँग परामर्श गर्दै हुनुहुन्थ्यो । त्यसैबीच प्रचण्ड र देउवासमेतका बीच यस सम्बन्धमा छलफल भएपछि पत्रकार महासङ्घको जिम्मा माओवादीलाई लगाउने निर्णय भएको हो ।

माओवादीले गोविन्द आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय पहिले नै गरिसकेको थियो । अब गोविन्द आचार्य काङ्ग्रेसको पनि उम्मेदवार बन्ने निश्चित भएको छ । गोविन्द तात्कालिक प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार थिए । उनले युद्ध पत्रकारिताको समेत अनुभव संगालेका छन् । उता एमालेसमर्थित प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ । साढे तीन दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील कोइरालालाई सभापतिको साझा उम्मेदवार बनाउन एमालेका तर्फबाट प्रयास भएको थियो ।

तर, काङ्ग्रेस र माओवादी त्यसमा सहमत भएनन् । पहिले माओवादी–एमाले गठबन्धनको सरकार हुँदा एमालेले गोविन्द आचार्यलाई पत्रकार महासङ्घको सभापति बनाउने लिखित प्रतिबद्धता गरेको थियो । अहिले एमालेसँग भएको सम्झौतालाई देखाएर माओवादीले काङ्ग्रेसको समर्थन खोज्यो र सभापति शेरबहादुर देउवा माओवादीले एमालेसँग सहमति बनाउने भयबाट आतङ्कित हुनुभयो । फलस्वरूप पत्रकार महासङ्घको आगामी महाधिवेशनमा आफूलाई काङ्ग्रेस बताउने पत्रकारहरूले गोविन्द आचार्यलाई मतदान गर्नुपर्ने भएको छ । आचार्य पनि व्यक्तिगत रूपमा योग्य मानिन्छन् ।