गरे त हुँदोरहेछ !

गरे त हुँदोरहेछ !


– बबिता बस्नेत

नेपालका ट्याक्सीमा बिल सिस्टम सम्भव होला र ? केही दिनअघि ट्राफिक व्यवस्थापनसँग सम्बन्धित लेखमा टिप्पणी गर्नेमध्ये केहीले यस्तो प्रश्न गर्नुभएको थियो । ‘ट्याक्सी प्रायः मानिसले अभर परेर नै चढ्छन् । ट्याक्सी चढिसकेपछि यात्रुले ‘यो ठाउँमा जाऊँ न’ भन्नुपर्नेमा पहिल्यै कहाँ जाने ? भन्ने प्रश्न चालकले गर्छन् । आफू जाने स्थान बताएपछि कतिले सीधै ‘त्यहाँ त नजाने’ भन्ने र धेरैजसोले चाहिँ ‘कति दिने ? या यति पैसा दिने हो ?’ भनेर प्रश्न गर्ने गरेका छन् । मिटरमा जाने ट्याक्सी भेट्न सडकमा गाह्रै छ । ट्याक्सीको यो मनोमानी अन्त्य गर्दै बिल प्रिन्टसमेत गर्न मिल्ने गरी ‘सिस्टम’ बसाउन सके र मोटरसाइकल बन्देज गर्न सके गृहमन्त्री जनार्दन शर्माको कार्यकालमा जनताका लागि गरिएको स्मरणीय कार्य हुनेछ ।’ तीन हप्ताअघिको घटना र विचार साप्ताहिकमा यी पङ्क्तिहरू प्रकाशित भएपछि उक्त प्रतिक्रिया मिलेको थियो । अचम्मै भयो, कुनै बेला परिकल्पना मात्र गरिएको ट्याक्सी व्यवस्थापन उपत्यकामा कार्यान्वयन भइरहेको छ । गन्तव्यमा पुगेर आफूले पैसा दिएपछि विकसित मुलुकका ट्याक्सीवालाले बिल दिँदै गर्दा आफ्नो देशमा कहिले यस्तो होला ? भनेर आफैँभित्र गर्ने गरिएको प्रश्न वास्तविकतामा परिणत भएको छ । काठमाडौं उपत्यकामा ट्याक्सीहरूले बिल प्रिन्ट गरेर दिन थालेका छन् । जतिले दिन सकेका छैनन, तिनका लागि पनि तीव्र रूपले काम भइरहेको छ । यसको अर्थ हो, गरेपछि त हुँदोरहेछ ।

हामी जो–जहाँ छौँ, त्यहीँबाट इमानदारीपूर्वक काम गर्ने हो भने नेपाललाई विकसित मुलुकमा परिणत गर्न गाह्रो छैन । सानो देश छ, राम्रा मान्छेहरू छन् । कुनै पनि क्षेत्रमा निस्वार्थी भएर केही काम गऱ्यो भने मानिसले सम्झिन्छन्, प्रशंसा गर्छन् । कुलमान, गोकर्ण, अनुराधा, महावीरलगायतका मानिस यसका उदाहरण हुन् । अहिले जनार्दन शर्मा यही पङ्क्तिमा छन् । मन्त्रीले चाह्यो भने हुन्छ भन्ने कुरा स्थापित गर्दै छन् । ट्याक्सी व्यवस्थापन यसको उदाहरण हो, साथमा छन् डीआईजी सर्वेन्द्र खनाल । धेरै मन्त्री आए र गए । धेरै ट्राफिक प्रमुख आए र गए । तर, यसप्रकारको कोसिस कसैले गरेका थिएनन् । टयाक्सीको दादागिरी सहरमा यति धेरै थियो कि सित्तैमा पाइने कुनै सेवा लिन लागेझैँ ग्राहकले ‘यो ठाउँमा गइदिनुस् न है’ भनेर अनुरोध गर्दा ‘त्यहाँ त नजाने या यति दिनुहुन्छ ?’ भनेर मोलतोल गरिन्थ्यो । विदेशीहरूलाई ट्याक्सीले गर्ने व्यवहार र लिने पैसा मुलुकको बेइज्जत गर्न थप योगदान पुग्ने प्रकारको थियो । एयरपोर्ट ट्याक्सीलाई अहिले पनि नजिकबाट अनुगमन गर्नु आवश्यक छ । देशको इज्जत धान्ने काम नेताको मात्र होइन विभिन्न पेसा, व्यवसायी र नागरिकको पनि हो ।

एयरपोर्ट ट्याक्सीलाई अहिले पनि नजिकबाट अनुगमन गर्नु आवश्यक छ । देशको इज्जत धान्ने काम नेताको मात्र होइन विभिन्न पेसा, व्यवसायी र नागरिकको पनि हो ।

नागरिकले पनि देशमा के–कस्ता नियम–कानुनहरू छन् र तिनको कार्यान्वयन कसरी भइरहेको छ भनेर जान्नु, बुझ्नुप¥यो । अहिले ट्राफिक कार्यालयले मिटरमा जान नमान्ने र बिल प्रिन्ट गरेर नदिने ट्याक्सीलाई पाँच हजार जरिवाना तोकेको छ । नागरिक आफैँ सचेत भएर बिल माग्न थालेपछि ट्याक्सी–ठगी स्वतः बन्द हुनेछ । अन्य मुलुकमा जस्तै ट्याक्सीले आफ्नो ड्युटीका रूपमा बिनामोलमोलाई यात्रुलाई गन्तव्यसम्म पु¥याउन थालेपछि आपत् परेर ट्याक्सी चढ्नेहरूलाई ठूलै राहत हुनेछ । सवारीसाधनसँग सम्बन्धित कुरा अरू पनि छन् । गाडीका गति (स्पिड)देखि जथाभावी रोक्ने प्रवृत्ति हुँदै कोचाकोच यात्रु खाँद्नेसम्म अनेक विसङ्गति छन् । प्राइभेट गाडी चलाउनेहरूले पनि लाखौँको गाडी त किन्न सकेका छन् तर ‘एटिच्युड’ बजारमा किन्न नपाइने हुँदा पैसा र प्रवृत्तिबीचको दूरी कति लामो छ भन्ने कुरा सडकमा देखिन्छ ।

हाम्रो देशमा हरेक कुरामा स्वार्थ समूहको ‘नेक्सस’ र ‘नेटवर्किङ’ छ । जसले आफ्नो स्वार्थभन्दा बाहिरको काम हुनै दिँदैन । कसले के गर्दै छ भन्ने कुरा पहिल्यै थाहा हुने अवस्थामा हामी छौँ । चूडामणि छुट्दै छन् भन्ने पहिल्यै थाहा थियो । नवराज सिलवाललाई आईजीपी बनाउनबाट रोकिँदै छ भन्ने पनि पहिल्यै बाहिर आइसकेको थियो । लोकमानसिंह कार्कीलाई अदालतले हटाउँदै छ भन्ने कुरा पनि थाहा थियो । कोसँग कसको के नेक्सस एवम् निर्णायक तहमा भएका मानिसहरू को–कसको सञ्जालमा छन् छर्लङ्ग छ । बिनास्वार्थ काम गर्ने हो भने यहाँ गर्न सकिने कुरा धेरै छ । सिस्टम पनि बसाउन सकिन्छ, समयमा चुनाव पनि गर्न सकिन्छ । मुलुकका विभिन्न क्षेत्रमा छुट्याएको बजेट इमानदारीपूर्वक खर्च गर्ने हो भने देशको विकास गर्न गाह्रो छैन । प्रत्येक वडामा बजेट पुग्छ, तर जेका लागि गएको हो त्यहाँका जनताले थाहा पनि नपाई फर्किन्छ । कतिपय स्थानमा चाहिँ मिलेमतोमा हिनामिना हुन्छ, गरिन्छ । बजेट खटाउनेदेखि सुरक्षासम्म, कृषि, शिक्षा, रोजगार, स्वास्थ्यलगायत जे–जे मन्त्रालय र तिनका विभागहरू छन् ती सबैमा भएका मानिसले इमानदारीपूर्वक काम गर्ने हो भने देश बनाउन पटक्कै गाह्रो छैन ।

ट्याक्सी व्यवस्थापनकै कुरा गरौँ, वर्षौं पुराना ट्याक्सीमा प्रिन्टर जडान त्यति सहज छैन । सुरुवात भएको छ, समय लाग्न सक्छ । ट्राफिक प्रहरीको सक्रियतालाई ट्याक्सी मालिक, तिनका ड्राइभर, प्रिन्टर मेसिनसँग सम्बन्धित प्रविधि, प्राविधिक, त्यसको उपलब्धता सबैले साथ दिनुपर्ने हुन्छ । जे होस्, प्रक्रिया सुरु भएको छ, एकपटक थिति बसेपछि त्यसले निरन्तरता पाउने नै छ । काठमाडौं उपत्यकामा यति सहज रूपमा गाडीको हर्न बन्द होला भनेर सोचिएकै थिएन, भयो । मादक पदार्थ खाएर गाडी चलाउनुहुन्न भन्ने कुरा नेपालमा पनि लागू होला भन्ने ठानिएको थिएन, भयो । काठमाडौंका एसपी हुँदा विक्रम थापाको पालामा उपत्यकामा होलीका बेला लोला हान्ने कुचलन बन्द भयो । विज्ञानराज शर्मा डीआईजी र एआइजी हुँदा ट्राफिक व्यवस्थापन र महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि उल्लेखनीय प्रयास भएका थिए । त्यसैले यहाँ नहुने या गर्न नसकिने भन्ने होइन, गर्ने कि नगर्ने भन्ने मात्रै हो । अहिलेका गृहमन्त्री जनार्दन शर्मामा केही गर्छु भन्ने अठोट देखिएको छ । संयोग नै भनौँ, सलाम खान या सलाम गर्न मात्रै प्रहरीमा जागिर खाएको होइन भन्ने मान्यता राख्ने सर्वेन्द्र खनाल ट्राफिक प्रमुख हुनुहुन्छ । गरे त हुने रहेछ भन्ने कुरा ट्याक्सी व्यवस्थापनको प्रक्रिया सुरुवातले देखाएको छ । आशा गरौँ, भविष्यमा थप उल्लेखनीय कामहरू हुनेछन् ।