भट्टराईले प्रचण्डमाथि लगाए गम्भीर आरोप

भट्टराईले प्रचण्डमाथि लगाए गम्भीर आरोप


नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले माओवादी केन्द्रका अध्यक्ष एवम् आफ्ना पूर्व–सहकर्मी प्रचण्डलाई ‘दिल्लीका शासकहरूको डिजाइनअनुसार काम गर्ने क्षणिक मोहोरा’को आरोप लगाएका छन् । नयाँ शक्तिबाट एकपछि अर्को गर्दै महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरू पलायन भई अन्य दलतिर आकर्षित भएका र माओवादी पृष्ठभूमिका कार्यकर्ताहरू पनि माओवादी केन्द्रतिर फर्किने सम्भावना बढेको चर्चा चल्दै गर्दा डा. भट्टराईले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रचण्डमाथि उल्लिखित गम्भीर आरोप लगाएका हुन् । चारबुँदै विज्ञप्तिमा उनले ‘नेपालका देशभक्त, वामपन्थी, प्रगतिशील धारलाई कमजोर पारेर काङ्ग्रेस र भारतपरस्त राजनीतिक शक्तिलाई बलियो पार्न प्रयोग गरिएका क्षणिक मोहोरा’ भन्दै प्रचण्डप्रति आक्रोश पोखेका छन् ।

पछिल्लो पटक आफ्ना अत्यन्त निकट मानिएका पार्टी संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनाले पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा असन्तुष्टि प्रकट गरेपछि भट्टराई रन्थनिएका थिए । त्यसलगत्तै एक प्रेस विज्ञप्तिमार्फत उनले ‘यस्ता अवाञ्छित क्रियाकलापबाट प्रभावित नहुन र अविचलित रही पार्टी उद्देश्य, कार्यक्रम र भावनाको रक्षा गर्न’ आफ्ना कार्यकर्तालाई आह्वान गरेका थिए । यसरी आफ्ना मान्छेहरू भड्किँदै जानुलाई उनले प्रचण्डको बहकावमा लागेको रूपमा बुझ्ने गरेका नयाँ शिक्तनिकट एक सदस्यले बताए ।

यसै पेरिफेरिमा बाबुराम भट्टराईले सार्वजनिक गरेका चार बुँदे वक्तव्य जस्ताको तस्तै :

साथीहरू, मैले शुरूदेखि प्रण गर्दै आएको छु र आज फेरि एकपटक जोड दिएर भन्न चाहन्छु–

१. नयाँ शक्ति र वैकल्पिक राजनीतिक अभियान एक्काइसौँ शताब्दीको वैश्विक आवश्यकता र नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको ऐतिहासिक आवश्यकताको उपज हो ! कसैको लहडमा स्थापना गरिएको अर्को एउटा सनातनी पार्टी हैन ! यसले जनतामा जरो गाड्न केही समय लिनसक्छ ! त्यसैले धर्ती भासिए पनि वा आकाश खसे पनि म यो अभियानमा लागिरहनेछु ! कसैमा रौँ जति पनि शंका छ भने आजदेखि पूर्ण रूपमा ‘डिलिट’ गरिदिनुहोला !

२. १० बुँदे आरोपपत्र बहानावाजी मात्र हो ! त्यसका अगुवाहरूले माकेमा विलीन हुन सबै तयारी गरिसकेका छन् भन्ने मसँग भरपर्दो जानकारी छ । यदि हस्ताक्षरकर्ता कोही साथीहरू अझै भ्रममा हुनुहुन्छ भने समयमै सत्यतथ्य बुझेर आफ्नो कदम सच्याउनुहोला ! प्रचण्ड नेतृत्वको माके न वैकल्पिक राजनीतिक शक्ति बन्न सक्छ न त्यो यथास्थितिमा देशको नेतृत्वदायी शक्ति बन्ने कुनै सम्भावना छ ! प्रचण्ड त खालि दिल्लीका शासकहरूको डिजाइनअनुसार नेपालका देशभक्त, वामपन्थी, प्रगतिशील धारलाई कमजोर पारेर काङ्ग्रेस र भारतपरस्त राजनीतिक शक्तिलाई बलियो पार्न प्रयोग गरिएका क्षणिक मोहोरा मात्र हुन् ! यो म कुनै आवेगमा वा दुराशयवश भनिरहेको छैन, तथ्यका आधारमा भन्दैछु, जुन समयक्रममा पुष्टि हुनेछ ।

३. माओवादी पृष्ठभूमिका साथीहरूलाई कुनै पनि प्रकारले आतङ्कित नहुन म विनम्र आग्रह गर्दछु ! युद्धकालीन मुद्दा ब्युँताएर सबैलाई फसाइँदैछ त्यसैले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्छ भन्ने भ्रम प्रचण्ड गुटले जबर्जस्त रूपमा छरिरहेछ ! त्यसमा कुनै सत्यता छैन ! नेपालको मौलिक शान्तिप्रक्रिया अब पछि फर्कन सम्भव छैन । किनकि त्यो पछि फर्कियो भने हिजो सत्तामा बस्ने र बल प्रयोग गर्नेहरू कोही पनि बच्नेछैनन् ! पूर्व माओवादी तर्फबाट म नै त्यतिबेलाको जनसरकार प्रमुख हुनुको नाताले त्यो जिम्मेवारी लिन तयार छु !

४. त्यसैले साथीहरू, यो चुनौति हामीलाई साँच्चै शुद्धीकरण गरेर नयाँ वैकल्पिक शक्तिमा रूपान्तरित हुने सुनौलो अवसर पनि हुनसक्छ ! यसलाई सामना गर्ने हिम्मत गरौँ ! म तपाईंहरूको साथमा निरन्तर रहनेछु !

– डा. बाबुराम भट्टराई