नब्बे नपुग्दै थला परिन् रत्न

नब्बे नपुग्दै थला परिन् रत्न


पूर्व श्री ५ मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको जानकारी प्राप्त भएको छ । यही भदौ ४ गते ९० वर्षमा प्रवेश गर्न लाग्नुभएकी उहाँ हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ । राजसंस्था र राजदरबार नरहे पनि नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा रहँदै आउनुभएकी उहाँ आफ्ना छोरा पूर्वमहाराजाधिराज श्री ५ ज्ञानेन्द्र नर्भिक अस्पताल भर्ना हुँदा पनि हेर्न जान सक्नुभएन । छोरा ज्ञानेन्द्र अस्पताल भर्ना भएदेखि नै स्वास्थ्य अवस्था के छ, कसो छ भनेर उहाँले पटक–पटक सोध्नुभएको थियो । प्राप्त जानकारीअनुसार सुरुमा त उहाँलाई पर्न सक्ने मनोवैज्ञानिक आघातलाई ध्यानमा राखेर राजा अस्पताल भर्ना भएको कुरा भनिएको थिएन । आफन्तहरूबाटै छोरा अस्पतालमा भर्ना भएको थाहा पाएपछि उहाँ छटपटिनुभएको थियो ।

गत असार २३ गते राजा ज्ञानेन्द्र आफ्नो जन्मदिनमा आमाको आशीर्वाद लिन आफैँ महेन्द्र मञ्जिल पुग्नुभएको थियो । यसअघि जन्मदिनमा मुमा बडामहारानी आफैँ छोरालाई टीका र आशीर्वादका लागि निर्मलनिवास जाने गर्नुभएको थियो । उहाँ नारायणहिटीमा सहयोगीहरूसँग बस्दै आउनुभएको छ । राजसंस्था गए पनि महेन्द्र मञ्जिलमै देहत्याग गर्ने इच्छा व्यक्त गर्नुभएपछि उहाँलाई सोही स्थानमा बस्ने व्यवस्था गरिएको थियो ।

यसैबीच प्राप्त जानकारीअनुसार मुमा बडामहारानीको ९०औँ जन्मोत्सवका लागि भेषराज्यलक्ष्मी सिंहको अध्यक्षतामा शुभजन्मोत्सव समारोह समिति गठन भएको छ । राजसंस्थाका अनुयायी राधेश्याम थापाका अनुसार समितिमा ज्योत्सना राज्यलक्ष्मी थापा, सीताबाई रोक्का, निर्मला महत, डा. पुष्पा रञ्जितलगायतका व्यक्तित्वहरू रहनुभएको छ । समितिले कमलादी गणेशस्थान, नक्सालस्थित नेपालेश्वर महादेव र पशुपतिनाथमा पूजा–अर्चना तथा भजन–कीर्तन गर्ने कार्यक्रम राखेको छ । पूजापछि मुमा बडामहारानीसमक्ष प्रसाद तथा फूलपाती पु¥याइने बताइएको छ ।