अनेसासबाट बेलायतमा देवकोटा जयन्ती

अनेसासबाट बेलायतमा देवकोटा जयन्ती


लण्डन । अनेसास बेलायत साखाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२औं जन्म जयन्ती गत २२ अक्टुबर, शनिबारका दिन सम्पन्न गरेको छ । कार्यक्रम अनेसासकी वरिष्ठ उपाध्यक्ष तथा बेलायत च्याप्टरकी उपाध्यक्ष जयालक्ष्मी राईकी अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई संस्थाकी महासचिव लक्ष्मी राईले सञ्चालन गरेकी थिईन् । यस कार्यक्रममा विभिन्न संघसंस्थाबाट आएका प्रमुख अतिथि, विशेष अतिथिहरुलगायत लगभग सत्तरीजना जतिको समूहले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नेपाली राजदूतबासका प्रतिनिधि गणेश अधिकारीले नेपाली भाषा र बाङमयको संबर्द्धन गर्ने बेलायत शाखाका श्रष्टाहरुप्रति आभार व्यक्त गर्दै महाकवि देवकोटा नेपाली भाषा र साहित्यका शिखर पुरुष हुन् भन्ने कुरामा कुनै पनि दुई मत नभएको कुरा व्यक्त गरेका थिए । त्यस्तै अनेसास बेलायत शाखाको निमन्त्रणामा आएकी विशेष अतिथि, नेपाल शाखाकी उपाध्यक्ष तथा साहित्यकार लक्ष्मी उप्रेतीले महाकवि देवकोटाको काव्य मुनामदनको बारेमा गोष्ठीपत्र प्रस्तुत गरकी थिईन् । उनले बेलायत शाखाले दिएको यो सम्मानले आफू दोश्रो अन्तर्राष्ट्रि्य सम्मेलनमै छु भन्ने अनुभूति भएको कुरा व्यक्त गरेकी थिईन् भने यसरी सम्मान गर्ने अनेसास बेलायतका पदाधिकारीहरुप्रति कृतज्ञता पनि सोही अवधि गरेकिथिईन् ।
यसैगरी अनेसासकी केन्द्रिय उपाध्यक्ष एवम बेलायत शाखाकी वरिष्ठ उपाध्यक्ष जयालक्ष्मी राईले अनेसास दोश्रो सम्मेलन सफल पार्ने सम्पूर्ण आर्थिक सहयोगकर्ताहरु, बेलायतशाखाका संयोजकहरुलगायत नेपाल, अमेरिका क्यानडा, फ्रान्सबाट दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका सबैमा हार्दिक आभार प्रकट गरकी थिईन् । साथै अनेसासको दोश्रो नेपाली साहित्य सम्मेलन लन्डनको नालीबेली प्रस्तत गरेकी थिईन् । यसअघि उनले प्रमुख अतिथिलाई खादा र विशेष अतिथि दोसल्ला ओढाएर सम्मान गरकी थिईन् । त्यसैगरी साहित्यकार एवं कवि गोपीकृष्ण प्रसाईंले नेपाली भाषामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको अतुलनीय योगदान जीवनी, ब्यक्तित्व, कृतित्वको बारेमा विस्तृत रुपमा प्रकाश पारेका थिए । महाकवि देवकोटाका कृतिहरु विश्व साहित्यको हाराहारीमा रहेको कुरा प्रस्टयाउँदै उनका जीवनका विभिन्न रोचक पक्षहरुको समेत जानकारी दिएका थिए । कवि, गजलकार डा. रुपक श्रेष्ठले देवकोटाको मुनामदनको बारे आफ्ना समीक्षात्मक अवधारणाहरु प्रस्तत गरेका थिए । उनले झ्याउरे लयको मुनामदनलाई देवकोटाले नेपाली साहित्यिक बाङमयमा भित्र्याएको कुरा दर्शाएका थिए । यसअघि सस्थाका सल्लाकार खगेन्द्र पाठकले सम्पूर्ण अतिथि साहित्यकार र र्सजकहरुलाई बेलायत शाखाको तर्फबाट स्वागत मन्तव्य दिँदै डायस्पोरिक नेपाली साहित्यको अवस्थाको बारेमा आफ्ना अवधारणाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अर्को आकर्षण थियो अर्थात् दोश्रो भाग सुमल कुमार गरुङको प्रकाशोन्मख नियात्रा संग्रह (यूरोप भ्रमणको रमाइला अनुभूति शव्दहरुमा) उपर विचार विमर्श र छलफल थियो । आफ्नो कृतिको बारेमा बोल्दै उनले यूरोपका विभिन्न ठाउँहरुको बारेमा ऐतिहासिक, बस्तुगत र तथ्यगत कुराहरु झल्काउने कोशिस गरिएकोबारे संक्षेपमा प्रकाश पारेका थिए । कृतिका बारेमा आफ्नो मन्तव्य दिँदै गोपीकृष्ण प्रसाईले उनको कृतिले यूरोपका सात देशको विभिन्न पर्यटकीय शहरहरुका बारेमा यथार्थ तत्थ्यहरु, ऐतिहासिक दस्तावेजहरु र भौगोलिक अवस्थाको बारेमा बडो घतलाग्दो ढंगले व्यक्त गर्नुभएको कुरा प्रष्ट पारेका थिए । अर्का समीक्षक डा.रुपक श्रेष्ठले जंगबहादुरको बेलायत भ्रमणलाई खोतल्दै सुमल कुमार गुरुडको नियात्रा निकै गहकिलो र घटना क्रमलाई सजीव ढंगले वर्णन गरेको कुरा आफले पाएको कुरा जनाएका थिए । देवकोटाको जन्म जयन्तीकै अवसरमा देवयानी शर्माको गीत, देउसी भैलो र आकर्षक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न श्रष्टाहरुद्वारा आ-आफ्नो रचनाहरु वाचन गरिएको थियो । क्रमश नारायण अधिकारी, विजय हितान, किरण थेवे, अच्युत गुरागाईं, नीलहरी घिमिरे, लय प्रसाईं, लारा, योगेश गुरु, गोपीकृष्ण प्रसाई, रुपक श्रेष्ठ, जया राई, लक्ष्मी उप्रेती, विनोद न्यौपाने आदिले कविता बाचन तथा देवकोटा जन्मजयन्तीबारे मन्तव्य प्रकट गरेका थिए भने, महाकवि देवकोटालाई नै केन्द्र विन्दु बनाई नारायण भट्टराई, विनोद न्यौपाने, नरेन्द्र कण्डेल, महेश रेग्मीले आ-आफ्ना अवधारणाहरु प्रस्तुत गरेकाथिए । कार्यक्रमकै सेरोफेरोमा मिस यूके नेपालको लागि तयार हुँदै गरेका प्रतिस्पर्धीहरुले आ-आफ्ना परिचय तथा प्रस्तुतीमा विचारहरु राखेका थिए । अनेसास बेलायत च्याप्टरका श्रष्टाहरु र नेपालका अन्य साहित्यकारहरुका विभिन्न पुस्तकहरु विक्री र प्रदर्शनीमा राखिएका थिए । लन्डन कलेज अफ इन्जिनीयरिङ एन्ड मेनेजमेण्ट विल्विचमा सञ्चालन भएको उक्त कार्यक्रमको लागि हलको सौजन्य महेश रेग्मीले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी महासचिब लाराले बडो रोचक एवम कुसल ढंगले संचालन गर्दै उनले अस्मिता भण्डारी, विकल आचार्य, प्रो. सूर्य सबेदी आदीको शुभकामना मन्तब्य पनि पढेर सुनाएकी थिईन् ।
भव्य उपस्थिति रहेको उक्त कार्यक्रम राष्ट्रिय गानबाट शुरु गरिएको थियो । पंडित नीलहरी घिमिरेले पवित्र गायत्री मन्त्रको उच्चारण गरी सभा हल गुंजायमान पारेका थिए भने कार्यक्रमको समद्घाटन संयुक्त रुपमा प्रमख अतिथि र विशेष अतिथिहरुले संयुक्त रुपमा गरेका थिए । उपस्थित सम्पूर्ण महानुभावहरुद्वारा देवकोटाको तस्वीरमा माल्यार्पण गर्दै पुष्पगुच्छा अर्पण गरिएको थियो । दिउँसो एक बजेदेखि बेलुका सात बजेसम्म अविछिन्न रुपमा कार्यक्रम चलेको थियो । उक्त कार्यक्रममा खाना र जलपानको व्यवस्थापन सुमलकमार गुरुड र राज सिटौंलाले गरेका थिए । -सुमल, मेस ।