यूरोप भ्रमणको रमाइला अनुभूति (भाग १५)

यूरोप भ्रमणको रमाइला अनुभूति (भाग १५)


हामी म्युनिख शहरको टाउनसेन्टरको विशाल भवनअघि निकै दरो झरी परेकोले गर्दा केही बेरको लागि ओत लिएका थियौं । त्यसैबेला टाउनसेन्टरको अघिल्लो भागमा म्युनिखबारे निर्माण गरेका मूर्तिहरुले इतिहास बताइरहेका थिए । साँझ झमक्क परेको थियो । एकैछिनपछि चारैतिर बिजुलीको झिलिमिलिमा हामी गाइडको पछि-पछि हिडिरहेका थियौं । गाइडले हामीलाई टाउनसेन्टरबाट केहीपर रहेको जर्मनको सबैभन्दा ठूलो पब/बारमा लगेर गए । यहाँ एकैचोटि लगभग पाँचहजार मानिसहरु बसेर पिउन सक्छन् भनेर गाइडले भनेका थिए । त्यस क्षेत्रमा धेरै बियर पिउने ऐतिहासिक महत्व बोकेका रेस्टुरेन्टहरु थिए । गाइडले १४औ शताब्दिताका जर्मनीहरु अत्यधिक बियर पिउने गर्दथे, तर, उनीहरु स्वास्थ्य र सफाइतर्फ त्यति साह्रो सचेत थिएनन् रे भन्दै अघि बढिरहेका थिए । हामीलाई एउटा भवन हाउसफ्राबेन (पूरा नाम अहिले भुलें)को अघि पुर्‍याए । दिनभरि रेस्टुरेन्टभित्र बियर पिएर बाहिर गलीमा जथाभावी पिशाब फेर्ने गर्दथे रे जसले गर्दा दुर्गन्धित भएर सडकमा हिंड्न गाह्रो हुन्थ्यो रे .. भन्दै थिए गाइड । नागरिक समुदायले रेस्टुरेन्टवालाहरुलाई कम्प्लेन गरेपछि रेस्टुरेन्टवालाहरुले रेस्टुरेन्टभित्र नै प्रत्येक टेबलमुनि पिशाब फेरने दुलो बनाएर नालाको मार्फत पिशाबलाई बाहिर निकाश गर्ने चलन बनाएका थिए रे । अब विचार गर्नुहोस्, त्यो ठाउँ अझ कति दुर्गन्घित बनेको होला । बियर बढी खाएर त्यहीं छाद्ने र पिशाब फेर्ने गर्दा कस्तो भएको होला – एकजना बृद्धा जर्मनीले यस व्यवस्थालाई हटाएर आधुनिक पाराको छुट्टै पिशाबघरको निर्माण गरेपछि मात्र स्वास्थ्य र सफाइमा सुधार आएको हो भनी गाइडले भनेका थिए । अहिले साढेसात बजिरहेको थियो । राति सिमसिम पानी परिरहेको थियो । हामी होटल फर्कँदा ढिलो हुने विचारले त्यहाँबाट होटलमा अर्कैबाटो भएर हामी होटलतिर आएका थियौं । हिटलरको समयमा फौजीहरुलाई तालिम र कवच खेलेका ठाउँहरु हुँदै हामी होटल छेउको रेस्टुरेन्ट जहाँ हाम्रो डिनरको ब्यवस्था थियो त्यहाँ आइपुगेका थियौं । साँझको खाना आलुको परिकार, गोभीसित मासु मिसाएको परिकार र ठूलो पोर्कचप थियो । सबैलाई जर्मन बियर डिनरसँगै सित्तैमा कमप्लिमेन्टस्वरुप दिएका थिए । मैले उसरी ड्रिङ्क गरि्दनँ, तर, त्यसदिन जर्मन बियर चाख्नलाई एक पिन्ट पिएँ । हामी डिनर गरिसकेपछि होटलमा दशबजेतिर फर्केका थियौं । भोलिफेरि हामी राइनभ्याली, राइन नदी हुँदै राइन नदीको किनाराको एउटा सुन्दर शहर बोपार्डमा वास बस्ने कार्यक्रम थियो । हल्का तातो पानीको सावारमा नुहाएपछि भोलिको लागि तयार गरेर हामी मीठो निन्द्रामा सुत्यौं ।

साँच्चै नै जर्मनीहरु बीयर सेवनका लागि अघि नै रहेछन् । जर्मनी बियर पनि निकै स्ट्रोङ हुन्छ किनभने अरु बियरको तुलनामा जर्मनी बियरहरुमा अल्कोहलको मात्र बढी हुन्छ । यहाँ बियर खाएर सडकमा हल्ला गर्दै हिंड्ने सामान्य रहेछ । हामी होटलमा सुतिरहँदा पनि सडकभरि हल्ला गरेर मत्थुभएका मानिसहरु हिँडिरहेका थिए । सायद निर्धारित समयसम्म पिएर हिँड्न पाउने नियम होला । तर, हामीलाई केहीबेरपछि केही थाह भएन कारण नींदमा भुसुक्क भएका थियौं । दिनभरिको यात्रा र म्युनिखमा साँझ पैदल हिँडेर केही घण्टा घुमेकाले छिट्टै हामी दुबै निन्द्रादेवीको अंगालोमा पुगेछन् । हामी सबेरै उठ्यौं । आज हाम्रो भ्रमणको दशौ दिन हो । हिजोको झरीले गर्दा आज हामीलाई न्यानो र उज्यालो सफा दिन प्राप्त भएको थियो । सबै भ्रमणटोलीका साथीहरु खुशी देखिन्थे । अब हामी राइन भ्यालीतर्फ ब्रेकफास्ट खाएर प्रस्थान गर्दैछौ । हाम्रो यात्रा तालिकाअनुसार कुनै फेरबदल नभई हाम्रो यात्रा अवरोधबिना सुगमतासाथ गइरहेको थियो । समानहरु कोचभित्र राखेपछि फेरि हाम्रो दशौ दिनको यात्रा शुरु हुन्छ । नयाँ ठाउँहरुमा हामी भ्रमणमा जाँदा आँखाहरु नयाँपन हेर्न र मनले केही बुझ्नका लागि व्यग्र र उत्सुक रहन्छन् । हामीलाई त्यस्तै अनुभूति भइरहेको थियो । म्युनिख शहर पनि विश्वमा निकै महँगा शहरमा पर्दोरहेछ । यस शहरलाई विश्वयुद्धताका ध्वंश गरेता पनि पुनर्संरचना गरेर अझ व्यवस्थित बनाएको रहेछ । यस शहरमा सन् १९७४मा जर्मनीले विश्व ओलिम्पिकको आयोजना गरेर शहरको निर्माण क्रमलाई अझ बढी सुदृढीकरण गरिएको थियो । म्युनिख अहिले विश्वस्तरीय शहरको रुपमा उदय भइसकेको छ । मलाई सम्झना छ, १९७४ सालको म्युनिख ओलिम्पिकमा दुःखदायी घट्ना घटेको थियो । प्यालिस्टायनी उग्रवादीहरुले इजरायली खिलाडीहरुलाई नृशंसा हत्या गरेका थिए । कुनै पनि ओलिम्पिकमा घटेको पहिलो अप्रिय घटना थियो यो घटना । तर, ओलिम्पिक खेलभने रोकिएन, केही समयपछि खेल कार्यक्रम तालिका अनुसार सञ्चालन गरिएको थियो ।

हामी अहिले राइन भ्यालीका लागि म्युनिखको मध्यभाग हुँदै पश्चिमतर्फ लागिरहेका थियौं । हामी बोपार्ड पुग्नुअघि सेनगोवासम्म गाडीमा अनि त्यसपछि राइननदीमा कु्रजबाट सफर गरेर बोपार्ड पुग्नुथियो । जर्मनीका हरियो फाँटहरुलाई दाहिने देब्रे छाड्दै बीचमा चिल्लो फराकिलो सडकमा गाडी पूरा रपmतारमा गुडिरहेको थियो । भ्रमणको क्रममा दिनभरि घाममा सीसाको झ्यालमा बसेर बाहिर हेर्ने र शहरहरु घुम्दा दिनभरि घाममा हिँडेकाले प्राय सबै भ्रमणका साथीहरुको छालाको रंग फेरिएको थियो । श्रीमतीले मेरो अनुहार हेर्दै मलाई जिस्क्याउँदै थिईन् … बल्ल बुरो अरिजिनल कलरको हुनुभयो … अब बल्ल काले भन्न सुहाउँछ.. भनिन् । मैले पनि जिस्क्याएँ .. तिमी पनि कालेको काली भइसकेकी छ्यौ, हेर त अनुहार …अनि हामी दुबै मरिमरि हाँसेका थियौं । राइन नदीको बारेमा किताबहरुमा पढेको थिएँ, मैले टीभीहरुमा पनि बृत्तचित्र हेरेको थिएँ । यो नदी स्विस अल्पस् पर्वतबाट निस्केर यूरोपको मध्यभागमा प्रवाहित हुँदै नेदरल्याण्डको उत्तरी समुन्द्रमा विलय हुन्छिन् । यूरोपको सबैभन्दा लामो नदी जसको लम्बाई १३०० किलोमिटर छ । यो नदीको अधिकतम गहिराई ३० मिटरसम्मको छ । यसलाई यूरोपको मुटुको मूल नशा पनि भनिन्छ । आज हामी यही राइन नदीमाथि सेनगोवाबाट (क्रुज) पानीजहाजमा चढेर बोपार्डसम्मा जाने छौ । हामी एक घण्टाजति कोचमा यात्रा गरेपछि पन्द्रह मिनटको लागि बाटोमा रोक्यौं । मलाई अहिलेसम्म भ्रमण गरेका देशहरुलाई अवलोकन गर्दा वास्तवमा देश विकासको लागि जनताबाट त्याग र परिश्रम नभई विकास नहुँदोरहेछ भन्नेकुरा प्रत्यक्ष आँखाले देखेर विश्वास भइरहेको थियो । प्रथम विश्वयुद्धमा जर्मनीहरु नराम्रोसंग पराजित भएपछि धेरै घाटा ब्यहोर्नु परेको थियो, तर, २० वर्षको समयभित्र एकदमै शक्तिशाली भएर उठेको थियो । यदि सबै राष्ट्रहरु मिलेर जर्मनीको विरुद्ध नलडेको भए जर्मनीलाई एक्लै हराउने कुनै राष्ट्रले दुःस्साहस गर्न सक्ने थिएन । दोश्रो विश्वयुद्धमा नराम्ररी पराजित भएर धेरै क्षति ब्यहोर्नु परे पनि अहिले जर्मनी फेरि शक्तिशाली भएर उठिसकेको छ । यो सबै देशका जनताहरुका लगनशीलता र मिहिनेतको फल हो । हामीले हिटलरलाई मात्र दोष दिन्छौं । तत्कालीन अवस्थामा कतिपए यस्ता बेथितिहरु थिए जसलाई निर्मुल पार्नको लागि उनले जुनकदम उठाए त्यसको भागिदार तत्कालीन अवस्थामा अरु जर्मनी प्रमुखहरु पनि थिए । यसकालागि बेलायतलगायत अरु मित्र राष्ट्रहरुका पनि उत्तिकै भूमिका थियो । इतिहास सधै जित्नेको पक्षमा जान्छ । जर्मनी र रुसको बीचको लडाइको जड बेलायत थियो । बेलायतले चलाखी गरेर एक ब्रिगेड बेलायती सेनालाई जर्मनीको भेष, झण्डा र जहाजको रंग छलेर रुसको पश्चिमदिशाबाट अँध्यारोको फाइदा उठाएर आक्रमण गरेको थियो । जर्मनीको भेषमा गरेको बेलायती आक्रमणलाई रुसले यो आक्रमण जर्मनीले गरेको हो भन्ने यकीन भयो र रुसले जर्मनीमाथि पहिलेको सन्धिको नियम उलंघन गरी आक्रमण गरेको थियो । यसरी छलेर रुसलाई नभड्काएको भए अहिलेको भौगोलिक मानचित्रमा हामीले ठूलो परिवर्तन देख्ने थियौं । संसारभरिको बेलायती प्रभुत्व त्यतिबेला नै सेलाउने थियो । र्
जर्मनीको उब्जाउ भूमि राइन नदीको वर्दान साबित भएको देखिन्छ । यहाँका मानिसहरु मेहनति र सम्पन्न छन् । उहिले रोमनकालमा यहुदीहरु रोम हुँदै पूरा यूरोपभरि फैलिएका थिए विशेष गरी व्यापारमा यहुदीहरु धेरैअघि थिए र भेनिसका शाइलक जस्ता यहुदीहरु यूरोपभरि फैलिएका थिए । हिटलरको मनमा यी शाइलकहरुलाई कसरी निर्मुल पार्ने भन्ने घृणात्मक छाप बसेको थियो, तर, उनले यहुदीहरुभित्र पनि एन्टोनियो जस्ता सहृदयी यहुदीहरु हुन्छन् भन्ने कुराको हेक्का राखेनन् । म यस्तै सोचहरु सोंच्दै कोचभित्र जर्मनीको अतीततिर पुगेका थिए । हामीले यात्राभरि खाने कफी र चियाको बन्दोबस्त गरेका थियौं । एउटा ठूलो थर्मस हामीसित थियो । प्रत्येक बिहान एक थर्मस तातोपानी भरेर लान्थ्यौं । बाटोमा हामी कफी बनाउँदै पिउँदै गर्थ्यौ । श्रीमतीले एककप मीठो कफी बनाएर दिईन् । म कफी पिएपछि अलि स्वच्छ महशुस गरे । मेरी जीवन संगिनी साथमा छिन्, दुःख-सुखको छाँया र मायाको साथी, यस यात्राको एउटा पात्रा । एउटा आनन्दमयी यात्राको अनुभूति भइरहेको छ मलाई । मलाई छिन-छिनमा बाहिरको दृष्यहरु औंलाले देखाउँछिन् । मलाई आफ्नो जीवन संगिनीलाई यति धेरै खुशी देख्दा मनमा ठूलो सन्तुष्टि मिलिरहेको थियो । मलाई फेरि एउटा अर्को अनुभूतिले खुशी दिइरहेको थियो । मेरा बुवाबाजेले बेलायती सरकारका लागि पहिलो र दोश्रो युद्ध लडेका थिए । म अहिले बुवा र बाजेले युद्धमा रगत बगाएका ठाउँहरुमा भ्रमणकारी भएर यात्रा गरिरहेको थिएँ ।

हामी अहिले दिनको लञ्चकालागि विश्राम गरेका छौं । यो ठाउँ राजमार्गको किनारमा सेनगोवाबाट साढे दुईघण्टा पर थियो । जर्मनका राजमार्ग छेउमा खोलेका सुपरमार्केटहरुमा ट्वाइलेटको लागि पैसा तिरेर टिकट लिनु पर्दोरहेछ, तर, त्यस टिकटमाथि टपअप गरेर खाने कुरा किन्न मिल्दो रहेछ । व्यापार गर्ने तरिका यी नै यूरोपेलीहरुलाई बढी थाहा छ । हामीले पनि पहिले ट्वाइलेटका लागि टिकट किन्यौं त्यसपछि लञ्च किनेर खाएका थियौं । राजमार्ग छेउका यस्ता सुपरमार्केटहरुमा सबै वस्तुहरु किन्न मिल्दोरहेछ । हामीलाई यहाँ ४५ मिनटको ब्रेक दिएको थियो । लञ्च लिइसकेपछि हामी बाहिर निस्केर त्यस ठाउँका केही फोटोहरु लियौं । अहिले आकाशका बादलहरु छाँटिएका थिए । वातावरण घामको किरणमा न्यानो र सुमधुर लागिरहेको थियो । भ्रमण दलका साथीहरु सबै खुशी थिए । हामी यस्तै ढाइघण्टाको यात्रापछि सेनगोवा आइपुग्यौं । सानो नदी किनारको शहर सेनगोवा, दुबैतिर अग्ला पहाडहरु र एकछेउमा राइन नदीमा कु्र्रजहरु, स्पिडबोटहरु र मालवाहक जहाजहरु देखे । राइन नदी मन्थर गतिमा फैलिएर युगौदेखिको इतिहास बोकेर बगिरहेकी छिन् ।

रोमन साम्राज्यको सेरोफेरो यही राइन र अर्को ठूलो नदी डेन्युबको क्षेत्रभित्र पर्ने विशाल भुभागदेखि बेलायतसम्मको भूभागसम्म पर्दथ्यो । इतिहासको धेरै उतारचढावलाई राइनले देख्दै आएकी छिन् । यस नदीका दुबै किनाराका शहरहरु, बस्तिहरु र डाँडाहरुमा निर्मित गिर्जाघर तथा क्याशलहरुले राइनको सभ्यता र इतिहास बोलिरहेको झै मलाई प्रतीत भइरहेको थियो । ग्रिसन क्यन्टोन, स्विस अल्पसबाट निस्केकी राइन नदी सेनगोवासम्म आइपुग्दा नौकायान गर्ने वृहत नदीमा फैलिएको रहेछ । ठूलठूला जहाजहरु यहाँसम्म मात्र आउँदारहेछन । नदीको दुबैतर्फ राजमार्ग र रेलमार्गहरु निर्माण गरेर यातायातको अनुपम सुविधा भएको मैले देखे । जलमार्ग, राइन नदीबाट नौकायान अथवा जहाजहरु, राजमार्गबाट वाहनहरु र रेलमार्गबाट रेलयात्रा गर्न सकिने राम्रो सुविधायुक्त ठाउँ मैले धेरै कम मात्र देखेको छु । हामी सेनगोवा शहर केहीबेरका लागि घुम्यौं कारण हाम्रो क्रुज आउने समय चारबजेको थियो । नदीका किनारहरुमा केही फरक गरेर ऐतिहासिक गिरजाघरहरु र क्याशलहरु देखे । हाम्रो कु्रजको भ्रमण केवल एकघण्टाको थियो । हामी त्यो सानो शहरको पब्लिक ट्वाइलेटमा गएर हल्का भएर आयौं । अहिले श्रीमतीले क्यामेरा बोकेकी थिईन् । फटापट मेरो फोटो खिचिरहेकी थिईन् । उनी प्रशन्न थिईन् । मलाई भन्दै थिईन् … अर्को पटक छोराछोरीलाई साथमा लिएर आउने ल बुरा … मैले …ल ल हुन्छ नी … भने अनि मनमनै सोँचे यस भ्रमणले ऊ खुशी भएकीछिन र अझ धोको पुगेको छैन । मैले जहाजबाट भ्रमण गर्नुभन्दा यस्तै कोचबाट भ्रमण गरेको रमाइलो र सबै बुझ्न पाउने रहेछ भन्ने अनुभूति गरे । धन्यवाद… फेरि अर्को श्रृंखलामा भेटौंला ।