बाढीप्रभावित परिवारले एकमुस्ट नगद पाउने

बाढीप्रभावित परिवारले एकमुस्ट नगद पाउने


सरकारले बाढिप्रभावित क्षेत्रका पीडितहरुलाई दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागि एकमुष्ट रकम दिने भएको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले जानकारी गराएका हुन् । उनले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागि सरकारले १ अर्ब निकासा गरेको जानकारी दिँदै सो रकम प्रभावितहरुलाई प्रदान गर्ने बताए ।

प्रभावित परिवारलाई नगदै दिएमा उनिहरुले इच्छाअनुसारको खाद्यान्न किनेर उपभोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘प्रभावित जिल्लाका कतिपय स्थानमा पसलको समस्या भए खाद्य संस्थानमार्फत खाद्यान्न खरिद गर्ने ब्यवस्था पनि मिलाउँछौं ।’

बाढीका कारण ३० जिल्ला प्रभावित भएको र १३५ जनाको मृत्यु तथा ३५ जना अझै बेपत्ता भएको जानकारी दिँदै मन्त्री शर्माले रौतहटमा हराएका भनिएका ५ जना घर फर्किएको बताए । ‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने समस्या हुँदैन’ मन्त्री शर्माले भने, ‘प्रतिब्यक्ति ७० रुपैयाँको दरले नगद दिँदा सामान्य दाल भातको समस्या हल हुने आँकलन गरेका छौं ।’

उनले अन्य बेपत्ताहरुको खोजी कार्य जारी रहेको भन्दै विपद्को समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा ब्यक्तिहरुलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गरे ।