लण्डन । भारतको एउटा गरीबीग्रस्त प्रान्त बिहारका एकजना साधरण गरीब लिपिक तथा कम्प्युटर प्रशिक्षकले भारतको कौन बनेगा करोडपतिको ज्याकपट राशी जितेर ओस्कार अवार्ड प्राप्त चलचित्र स्लम डग मिलिनयरको पटकथालाई चरितार्थ गरी त्यस भूमिकाको पात्रलाई सत्य सावित गरिदिएका छन् । भर्खरै वैवाहिक सूत्रमा बाँधिएका सुशील कुमारले जब भारतीय रुपैया पाँच करोड जिते, उनी केशही बोल्न सकिरहेका थिएनन् र केहीबेरको लागि कण्ठ अबरुद्ध भएको थियो । कम्प्युटर सिकाउने २७ वर्षीय सरकारी जागिरेको मासिक तलब केवल ७५ पाउण्डमात्र थियो । उनले कौन बनेगा करोडपतिको प्रसारण कार्यक्रम आफ्नो छिमेकीको घरमा गएर हेर्ने गर्दथे । किनभने उनको घरमा गरीबीको कारणले गर्दा टिभीसेट किन्न सकिरहेका थिएनन् । सन २००८को बहुचर्चित फिल्म स्लमडक मिलिनयरको झझल्को दिँदै उनले सबै प्रश्नको जवाफहरु सही दिएका थिए । अन्तसम्म उनले आफ्नो कुनै लाइफ लाइन प्रयोग गरेका थिएनन् । सुशील कुमारले पाँच करोडको राशी जितेपछि .. मैले कहिल्यै यस्तो हुन्छ होला भनेर चिताएको थिइँन … भनेका छन् ।
पाँचमहिना अघिमात्र विवाह गरेका कुमारले कौन बनेगा करोडपतिका सञ्चालक, बलिवुडका प्रख्यात अभिनेता अमिताभ बच्चनलाई अब आफ्नो सिभिल सर्भिस परिक्षामा बस्ने सपना पूरा भएको छ भनेका थिए । यति ठूलो रकम जितेपछि उनका गृ्हनगरमा उनले एउटा लाइब्रेरीको स्थापना गर्ने, आफ्ना चारजना भाइहरुलाई ससाना व्यापारका लागि मद्दत गर्ने, घरको सबै ऋण तिरेर एउटा नयाँ घर किन्ने कुरा भनेका छन् । यतिबेला उनका घरमा छिमेकीहरु बधाइ दिनका लागि ओइरिएका छन् । इण्डिया टूडे म्यागजिनलाई सोधेको जवाफमा उनले … म अहिले नै सबै कुरा भन्न सक्दिनँ, तर, मेरो सपना साकार भयो यस पैसाबारे अझ गहिरिएर सोच्नु आवश्यक छ, म आशा राख्दछु कि यो मेरो जीतले बिहारको म बस्ने सानो शहरका मानिसहरुकालागि प्रेरणा बन्नेछ … भनेका थिए । उनका परिवारका सदस्यहरुका अनुसार उनी बीबीसी हिन्दी सेवाको नियमित श्रोता थिए । कौन बनेगा करोडपति सञ्चालन गरेयतादेखि शीर्ष पुरस्कार जितेको यो पहिलोचोटि हो । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया