
लण्डन । तिहारको बेलामा परापूर्वकालदेखि देउसी भैलो खेल्ने प्रचलन नेपालमा चल्दै आएको एउटा मुख्य संस्कार र धार्मिक व्यवस्था हो । नेपालीहरु विश्वको जहाँकहीँ पुगे तापनि तिहारको बेलामा एउटा सानो समूह हुनासाथ देउसीभैलो खेलेर आफ्नो परम्परालाई मनाउँछन् । बेलायतमा केही वर्षयतादेखि दक्षिणपूर्व लण्डन क्षेत्रमा बस्दै आएका नेपालीहरुले एउटा सामुदायिक भवन निर्माण गर्नका लागि पोहोरसालदेखि चंदा संकलन गर्ने अभियानमा लागेका छन् । हालसम्म निकै उत्साहजनक रकम उठाइसकेको छ । यस अभियानमा हालसालै गठन भएको दक्षिणपूर्व लण्डन बौद्ध आमा समाजको ठूलो भूमिका रहेको छ । यसपालिको देउसीभैलोको मूल उद्धेश्य सामुदायिक भवनको लागि चन्दा संकलन गर्नु रहेको थियो । समाजका संयोजक श्रीचन्द्र गुरुङको पहलमा प्लमस्टिड, वेलिङ, विलविच, थेम्समिड र चार्लटन क्षेत्रका केही व्यापारीहरुलगायत नेपालीहरुका घरदैलोमा गएर देउसीभैलो खेलेको थियो ।
यस देउसीभैलो कार्यक्रममा समाजका सल्लाहाकारहरु सुमल कुमार गुरुङ, हिराप्रसाद गुरुङ, खडका गुरुङ, योगेश गुरुङ, सुमन गुरुङ, बौद्ध आमा समाजका अध्यक्ष राम कुमारी गुरुङ, उपाध्यक्ष निर्मला गुरुङ, महासचिव सारादेवी गुरुङलगायत सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरुको ठूलो जमात जोर मादल बजाउँदै, देउसीभैलोको गीत भट्टयाउँदै, गाउँदै र नाच्दै बेलायतको परिवेशमा सानो नेपाल टपक्क टिपेर ल्याएको अनुभूति दिलाएको थियो । बेलायती भूमिमा खृष्टियनहरुले क्रिसमसको बेलामा क्यारोल गाउँदै हिँडेजस्तै नेपालीहरुलाई आफ्नो मौलिक पहिरनमा मादल बजाउँदै नाच्दै, गाउँदै हिँडेका देखेर स्थानीय वासिन्दाहरु छक्क परेका थिए । कतिपयले कौतुहूलबश सोधेका पनि थिए । ३०, ४० जनाको ठूलो जमात आफ्नो संस्कार र परम्परालाई जीवन्त दिँदै अस्ति भाइटिकाको दिनदेखि हिजोसम्म खेलेको देउसीभैलो कार्यक्रमबाट तीनहजारभन्दा बढी रकम संकलन गर्न सफल भएको छ । यस कार्यक्रमलाई सफल पार्नको लागि एनटीभीका मोहन गुरुङ र बनु गुरुङले निःशुल्क मिनिबस उपलब्ध गराएर समाजलाई सहयोग गरेका थिए । मिनिबसका ड्राइभर दिल गुरुङ, देउसीभैलोभरि भीडीयोग्राफी गरेका पूर्ण गुरुङ, सम्पूर्ण देउसीभैलो टोलीलाई भोजन खुवाउने योगेश गुरुङ र क्याप्टेन रिटायर्ड, नारायण बहादुर गुरुङ, देउसीभैलोमा आकर्ष नृत्य प्रस्तुत गरेका तारा र निर्मला गुरुङ, सुरिलो स्वरमा गीत गाएर कार्यक्रमको धडकन बनेकी धना गुरुङ र देउसी भट्याउने सारादेवी गुरुङलगायत सबै सहभागीहरुलाई संयोजक श्रीचन्द्र गुरुङले कार्यक्रमको अन्तमा आभार व्यक्त गर्दैै धन्यवाद ज्ञापन गरेका थिए । -सुमल, मेस ।
प्रतिक्रिया