कामचोर ठेकेदार र कर्मचारीमाथि कारवाही गर्ने ‘प्रभु’को चेतावनी

कामचोर ठेकेदार र कर्मचारीमाथि कारवाही गर्ने ‘प्रभु’को चेतावनी


समयमा काम सम्पन्न नगर्ने कर्मचारी र ठेकेदारलाई सहरी विकास मन्त्रालयले कारवाही गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयमा शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले मुलुकमा सञ्चालित परियोजनाहरुको काम समयमै सम्पन्न नगर्ने सम्बन्धित ठेकेदार, कर्मचारी तथा परियोजनामा सम्लग्नलाई कारवाही गर्ने निर्णय गरेको हो ।

त्यस कार्यका लागि मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठको संयोजकत्वमा पाँच सदस्य टोली गठन भएको बताइएको छ । सदस्यहरूमा आर्थिक, प्रसाशन, प्राविधिक र कानूनी क्षेत्रका प्रतिनिधि सहभागी छन् । समितिलाई १५ दिनभित्र विभिन्न परियोजनाको कामको अध्ययन गरि प्रतिवेदन मन्त्रालयमा बुझाउने जिम्मेवारी तोकिएको छ ।

सहरी विकासमन्त्री प्रभु साहले लामो समयसम्म विभिन्न सरकारी परियोजनाका काम थाले पनि समयमै सम्पन्न नहुने, ठेकेदार आफ्नो जिम्मेवारीबाट उम्किने, कर्मचारीले समयमै सम्बन्धित निकायमा कामको. बारेमा जानकारी नगराउने समस्या देखापरेपछि छानविन गरि कारवाही गर्न लागिएको बताए । मन्त्री साहले भवनसम्बन्धी सम्झौता गर्ने, १० वर्षसम्म पनि काम सम्पन्न नगर्ने, तोकिएको मापदण्डमा तोकिएको समयमा काम नहुनुका कारण छानविन गरेर दोषी पत्ता लगाई कारवाही गरिने प्रतिबद्धता जनाए ।

सरकारी लगानी भएका परियोजनामा सम्पन्न गर्न ध्यान नदिने कर्मचाारी र ठेकेदारलाई विभागीय कारवाही गरिने र कामप्रति जिम्मेवार नहुने ठेकेदार र कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय उक्त मन्त्रालयले गरे पनि व्यवहारमा कति लागु हुने हो, यो चाहिँ प्रतीक्षाकै विषय बनेको छ ।