मिडिया र राजनीतिक दलको सहयात्रा जरुरी : देउवा

मिडिया र राजनीतिक दलको सहयात्रा जरुरी : देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रिक गणतन्त्रका लागि पत्रकारको योगदान उल्लेख्य रहेको स्वीकार गरेका छन् । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको राजधानीमा उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले सञ्चार क्षेत्रलाई सरकारले कुनै हस्तक्षेप नगरी स्वतन्त्र छाड्ने अभिव्यक्ति समेत दिए । आफू सञ्चारक्षेत्रको सहयोगीको रुपमा उभिन हरदम तयार रहेको उनको भनाई थियो । प्रधानमन्त्री देउवाले मिडिया र राजनीतिक दल एक साथ हिँड्न जरुरी रहेको बताउँदै सञ्चारमाध्यमले लोकतन्त्रका लागि सुझाव, चेतावनी र आलोचना गरेर दललाई सहयोग गर्न सक्ने उल्लेख गरे ।

‘व्यवसायिक पत्रकारिताको आधार : प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा सुरु भएको महासंघ महाधिवेशनको बन्द सत्र आजदेखि नै सुरु भएको छ र सोमबार बिहानैदेखि निर्वाचन कार्यक्रम सुरु हुने कार्यतालिका छ । करिब १० हजार पत्रकार आवद्ध रहेको महासंघको महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुने छन् ।

नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउने छ ।

नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ ।गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ । यस्तै उजीर मगरले पनि अध्यक्षमा दाबेदारीसहित उम्मेदवारी दिएका छन् । महासंघको नेतृत्वको निम्ति निकै घम्साघम्सी हुने देखिन्छ ।