‘भारत-मुर्दावाद भन्दैनौँ’ भन्दै गगनले दिए बाँध भत्काउने सुझाव

‘भारत-मुर्दावाद भन्दैनौँ’ भन्दै गगनले दिए बाँध भत्काउने सुझाव


– छविलाल बगाले

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला सचेत भएर कुरा नगरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । आसन्न भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाले नेपाल–भारत बीचको दौत्य सम्बन्धलाई सफलतापूर्वक निभाउनुपर्ने तर्कसहित यस्तो बताएका हुन् ।

नेपाल विद्यार्थी संघ मनाङ र नेपाल तरुण दल मनाङले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री थापाले नेपाललाई क्षति पुर्‍याउने गरी भारतले बनाएको बाँध, तटबन्ध भत्काउनु पर्ने प्रस्ताव प्रधानमन्त्रीले कडाईसाथ राख्नुपर्ने बताए । ‘भारतप्रति हाम्रो नकरात्मक विचार केही छैन र हामी भारत मुर्दावाद पनि भन्दैनौं । थापाले भने, ‘भारतका कारण नेपाली जनताले दुख नपाउन् ।’

थापाले प्रधानमन्त्री देउवाले भारतमा गएर आँखा जुधाएर र कानुखुसी गरेर मात्रै आए भने नेपाली जनताले विरोध गर्ने बताएका छन् । भारतले नेपाली भूमिमा निर्माण गरेका बाँधका कारण नेपालको तराई क्षेत्र सधै वर्षायाममा डुबानमा परेको भन्दै उनले तराईमा भएको बताए ।

एक अर्को फरक प्रसङ्गमा थापाले मनाङ पर्यटन, कृषि र पशुपालनको सम्भावना भएकोले यससम्बन्धी उद्योगमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस मनाङका सभापति एवम् पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले पर्यटकीय गन्तव्य मनाङलाई प्रबद्र्धन गरी पर्यटन उद्योगमा उल्लेखनीय सुधार गर्न जिल्लाका युवाहरुलाई अनुरोध गरेका छन् । उनले प्रदेश र संघको निर्वाचनमा सबै युवाहरू एक भएर मनाङमा कांग्रेसको किल्ला बनाउनुपर्नेमा जोड दिए ।

गुरुङले संविधान संशोधन प्रक्रिया संसदमा प्रस्ताव भइसकेकोले नेकपा एमाले लगायत सबै दलहरूले रचनात्मक सहयोग गर्ने विश्वास ब्यक्त समेत ब्यक्त गरेका छन् ।

नेपाली काङ्ग्रेस मनाङको समन्वयमा भएको सो कार्यक्रममा मनाङका दुईसय जना युवा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस मनाङका काठमाडौ सम्पर्क समितिका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि साङ्दो लामा, नेपाली कांग्रेस मनाङका सचिव विनोद गुरुङ, तरुण दल मनाङका सभापति विजय घले लगायतले आफ्ना धारणा राखेका थिए ।