फेरि ब्युँतियो वाइसीएल

फेरि ब्युँतियो वाइसीएल


जनयुद्धकालको समाप्तिपछि सशक्त ढङ्गमा उदाएको माओवादीको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल) पछिल्लो समय एकाएक बिलाएसरह बन्न पुगेको थियो । तर, काङ्ग्रेससँगको सत्ता–सहयात्रापछि पुनः शीर उठाएको माओवादी केन्द्रसँगै सो पार्टीसम्बद्ध वाईसीएल पनि ब्युँझन पुगेको छ ।
यसै क्रममा वाईसीएलको भर्खरै सम्पन्न एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट सो सङ्गठनका चर्चित युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ अध्यक्ष चयन भएका छन् । हालसम्म वाइसीएलका महासचिव रहेका दीपशिखा सर्वसम्मतिबाट अध्यक्ष चयन भएका हुन् ।

नेतृत्व क्षमताका धनी युवाका रूपमा सङ्गठनभित्र परिचित दीपशिखा मिहिनेती, इमान्दार, सिद्धान्तनिष्ठ युवाका रूपमा लोकप्रिय छन् भने अत्यन्त मिलनसार स्वभावका कारण कार्यकर्ताहरूसँग उनको बढ्ता घुलमिल रहने गरेको बताइन्छ । देशभरका ५ सय ४९ जना पर्यवेक्षकबाट सर्वसम्मत रूपमा दीपशिखा अध्यक्षमा चयन भएका हुन् ।

०७३ जेठमा १० माओवादी घटकबीच एकता भएपछि वाईसीएलले गत वर्ष असोजमा एकता भेला गरेर नयाँ नेतृत्व चयन गरेको थियो । त्यसैले वाईसीएलले यस वर्षको सम्मेलनलाई एकताको दोस्रो सम्मेलन भनी सम्बोधन गरेको हो । राजधानीको कोटेश्वरमा यही भदौ २ गते आयोजित वाईसीएलको दोस्रो एकता सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए ।

को हुन दीपशिखा ?

सिन्धुपाल्चोक जन्मथलो भएका राम्रसाद सापकोटा नै माओवादी पार्टी पङ्क्तिमा दीपशिखा नामले चिनिएका युवा नेता हुन् । उनी संगठनमा अत्यन्त दक्ष र स्थापित नेता उनले जनमुक्ति सेनाको बटालियन कमाण्डर हुँदै जनयुद्धकालमा काठमाडौंको एसटीएफमा काम गरेका थिए भने भक्तपुर जिल्लाको अध्यक्ष, नेवा राज्य संयोजक, महासचिव भएर पनि उनले काम गरिसकेका छन् । साहित्य सिर्जनामा समेत रुचि राख्ने दीपशिखाले ‘फुलेको याम’ नामक उपन्यास पनि लेखेका छन् । पत्रपत्रिकामा समसामयिक विषयमा लेख रचना लेखिरहने उनी कुनैबेला ‘लालरक्षक’ पत्रिकाका सम्पादक थिए ।