बैंक कर्मचारीले गरे ग्राहकको खातामा डकैती

बैंक कर्मचारीले गरे ग्राहकको खातामा डकैती


पटकपटक सेवाग्राहीका खाताबाट नक्कली हस्ताक्षर गर्दै रकम झिक्ने सरकारी मातहतका बैंक कर्मचारीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । पछिल्लो समयमा सेवाग्राहीको खाताबाट ४० लाख रुपैयाँ निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी स्थित रहेको राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पक्राउ गरेको छ । सो बैंक जलेश्वर शाखाका वरिष्ठ सहायक पदका प्राविधिक जलेश्वर नगरपालिका– २ बस्ने ५७ वर्षीय महेन्द्र साहलाई बैंकिङ कसूर गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताएका छन् ।

पक्राउ परेका टेक्निसियन साहले सो शाखाबाट कम्प्युटरमा सेवाग्राहीको हस्ताक्षर व्यवस्थापन तथा सबै शाखामा हस्ताक्षर पठाउने काम गर्दै आएका बेला जिल्लाको बर्दिबास शाखाबाट नक्कली हस्ताक्षर प्रयोग गरी त्यहाँ कार्यरत दुई जना कर्मचारीले सेवाग्राहीको २० लाख रुपैयाँ झिकेर हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । प्रहरी उपरीक्षक कठायतका अनुसार यसअघि साउनको अन्तिम साता रावा बैंक बर्दिवासमा कार्यरत वरिष्ठ सहायकद्वय बर्दिवास नपा–८ बस्ने ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोकको धुलिखेल नपा–११ बस्ने ३५ वर्षीय अम्बिका पौडेललाई बैंकिङ कसूरमा पक्राउ गरिएको थियो ।

पक्राउ परेका रावा बैंकका कर्मचारीद्वयले बर्दिवास शाखामा महोत्तरीको साँढा–२ घर भई हाल नेपाल विद्युत प्राद्यिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इन्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा रहेको वचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी २० लाख रुपैयाँ झिकेर हिनामिना गरेको आरोप छ । उनीहरुले नक्कली चेककै प्रयोग गरी सर्लाही जिल्लाको लालबन्दीस्थित रावा बैंकबाट ५ लाख र सिरहाको मिर्चैयास्थित रावा बैंकबाट १५ लाख रुपैयाँ निकालेको प्रहरीले जनाएको छ ।

ती बैंक कर्मचारीले आफ्नो खाताबाट रकम झिकेको भन्दै इन्जिनियर सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो । यसै घटनामा दोषी रहेको आरोपमा रावा बैंक जलेश्वरका टेक्निसियन साहलाई पनि पक्राउ गरेको हो ।

साउन अन्तिम साता पक्राउ परेका दुवै जना कर्मचारीले आफूसहित यस कार्यमा अन्य पाँच जना कर्मचारी पनि संलग्न रहेको बयान दिएका थिए । ती दुवै जनामाथि बैंकिक कसूर मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएकै बेला थप एक जना टेक्निसियन पक्राउ परेको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।