अध्ययन रकम जुटाउन भारत गएका युवकको मृत्यु

अध्ययन रकम जुटाउन भारत गएका युवकको मृत्यु


आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो । रावतको भारतको उत्तर प्रदेशको सिरमौर राजगढ भुइँरा लिंक सडक खण्डमा दुर्घटनामा परी मृत्यु भएको मृतकका आफन्त कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । रावत गत साउन ६ गते मजदुरीको सिलसिलामा भारतको उत्तर प्रदेशको सिरमौर राजगढ गएका थिए ।

मृतक रावत जुनीचाँदे गाउँपालिका– ४ लुहादहमा रहेको आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययन गरिरहेका थिए । रावतको मृत्युले परिवारमा सन्नाटा छाउनुका साथै आशाको केन्द्र छोराको मृत्युले आमा, बुबामा निराशा पैदा भएको छ । यहाँका अधिकांश युवा आर्थिक अभाव भएपछि भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरेर पैसा कमाएर पढ्ने र घर खर्च चलाउने गरेको राससले जनाएको छ ।