गम्भीर आरोपसहित उजीर मगर निष्काशित

गम्भीर आरोपसहित उजीर मगर निष्काशित


पत्रकार महासंघको जारी अधिवेशनमा आफ्नै संगठनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएर विवादमा परेका पत्रकार उजिर मगर कारवाहीमा परेका छन् । संगठनको लाइनविपरित गई गम्भीर घात गरेको भन्दै अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका उजिरलाई प्रेस सेन्टरले कारवाही गरेको हो ।

प्रेस सेन्टरका महासचिव विष्णुप्रसाद सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मगरलाई प्रेस सेन्टरको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिएको छ । महासंघको २५ औं महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेदवार बनाएको थियो । तर, २४ औं महाधिवेशनबाट पत्रकार महासंघको महासचिव चुनिएका उजीर पनि सो पदका आकांक्षी रहँदै आएका थिए भने प्रेस सेन्टरको निर्णय लत्याउँदै उनले वागी उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी फिर्ता लिई संगठनको निर्णय मान्न पटक पटक निर्देशनात्मक आग्रह गर्दा पनि नमानी आफ्नो उम्मेदवारी कायमै राखेकोले उजिर मगरलाई प्रेस सेन्टर नेपालको साधारण सदस्यबाट निष्काशित गरिएको सेन्टरको विज्ञप्तिमा जनाइएको छ । यति मात्र नभई पत्रकार महासंघका बहालवाला एक केन्द्रीय सदस्यले समाचारलाई आधार बनाएर लाखौं रुपियाँको बार्गेनिङ गरेको घटनामा पनि उजीरले नकारात्मक र लज्जास्पद भूमिका निर्वाह गरेकोले संगठनकै बदनाम भएको जनाइएको छ ।

उजीरलाई कारवाही गरेको जानकारी दिन प्रकाशित विज्ञप्तिमा पत्रकार महासंघको निर्वाचनमा भ्रममा नपरी अध्यक्ष पदका उम्मेदवार गोविन्द आचार्य र उनी नेतृत्वको लोकतान्त्रिक, प्रगतिशील, समावेशी र व्यवासायिक प्यानललाई मतदान गर्नसमेत प्रेस सेन्टरले अपिल गरेको छ भने उजिर मगरलाई सहयोग गरेको पाइए प्रेस सेन्टरसम्बद्ध कुनै पनि सदस्य कारवाहीको भागीदार बन्नुपर्ने चेतावनीसमेत दिइएको छ ।