संशोधन विधेयक आज निर्णयार्थ पेस हुने

संशोधन विधेयक आज निर्णयार्थ पेस हुने


संविधानको दोस्रो संशोधन विधेयक आज संसदमा निर्णयार्थ पेस हुदैछ । संविधान जारी भएदेखि नै असन्तुष्ट रहेका मधेस केन्द्रित दलको माग सम्बोधन गर्न भन्दै सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकार सहितका विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो ।

अपरान्ह बस्ने संसदको बैठकमा संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी छ । विधेयकमाथिको दफावार छलफल बाँकी रहेको र त्यसमाथि परेका ५० वटा संशोधनलाई क्रमैसँग निर्णयार्थ पेस गर्न लामै समय लाग्नेछ ।

विधेयकमाथि संशोधन दर्ता गराउनेसहितका सांसदहरूले आइतबार दोस्रो दिनको दफावार छलफलमा भाग लिएका थिए । एमालेसहितका प्रतिपक्षी सांसदले विधेयक अघि बढाउने सरकारी कदमलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री निर्वाचनमा सत्ता गठबन्धनतिर उभिएको राप्रपाले अहिले संशोधन विधेयकको विपक्षमा मत दिने औपचारिक निर्णय लिइसकेको छ । संविधान संशोधन विधेयकका पक्षमा सदनमा तत्काल कायम रहेको कुल सदस्य संख्या ५ सय ९२ को दुई तिहाइ ३ सय ९५ मत नपरेको अवस्थामा विपक्षमा जतिसुकै कम मत परे पनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुन्छ ।

संसदमा सत्तारूढ कंंग्रेसको २ सय ७, माओवादीको ८२, राजपाको २५, लोकतान्त्रिक फोरमको १६ र संघीय समाजवादी फोरमको १५ सिट छ भने सदनमा एक र दुई सिट मात्रै भएका केही साना दल पनि संविधान संशोधनको पक्षमा छन् ।

यद्यपी यहि संख्याका आधारमा विधेयक पारित हुने संभावना छैन । प्रमुख प्रतिपक्षी एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका दल विधेयकको बिपक्षमा उभिएका छन् । प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित हुने संभावना कमै छ ।