संशोधन प्रस्तावको विपक्षमा राप्रपाको ह्विप

संशोधन प्रस्तावको विपक्षमा राप्रपाको ह्विप


आफू सरकारमा हुँदा संविधान संशोधनको पक्षमा दृढता प्रकट गरेको कमल थापाको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । थापाको अध्यक्षतामा आज सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको राप्रपा संसदीय दल बैठकले विधेयकको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

उक्त पार्टीको यही भदौ १ देखि ४ गतेसम्म हेटौंडामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसदमा प्रस्तुत गरिएको संशोधन विधेयकले मधेशी जनताको समस्यालाई सम्बोधन गर्न नसक्ने ठहर गर्दै विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । हेटौंडा बैठकपछि जारी विज्ञप्तीमा संविधान संशोधन विधेयकले मधेश र मधेशी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, विधेयक पारित गराउने बारे स्वयं सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश गरिएको हिन्दुराष्ट्र पुनस्र्थापना सम्बन्धि संविधान संशोधन विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु क्रियाशिल रहेको तथ्यलाई दृष्टिगत गर्दै संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय भएको जनाइएको थियो ।