यस्तो छ प्रधानमन्त्रीको भारत-भ्रमण कार्यसुची

यस्तो छ प्रधानमन्त्रीको भारत-भ्रमण कार्यसुची


प्रधानमन्त्रीको भारत भ्रमणको तिथि नजिक आइसक्दा पनि सरकारले औपचारिक घोषणामा ढिलाई गर्दा भ्रमणबारे अनेक आशंका पैदा भएको थियो । भ्रमण बारेको अन्योल चिर्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसम्बन्धी औपचारिक कार्यसूची सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार भोली बुधबार प्रधानमन्त्री भारतको पाँचदिने राजकीय भ्रमणमा निस्कने छन् भने बिहीबार देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रधानमन्त्री देउवालाई राष्ट्रपति भवनमा राखिने व्यवस्था गरिएको छ । उनलाई बिहीबार गार्ड अफ अनर दिइने बताइएको छ । लगत्तै उनले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टचार भेट गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन प्रधानमनन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने र प्रधानमन्त्री देउवाको सम्मानमा मोदीले दिवाभोज समेत दिने कार्यसूचीमा उल्लेख छ । उक्त दिवाभोजमा भारत सरकारका केही वरिष्ठ मन्त्रीहरु सहभागी हुने छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपाली समुदायका साथै भारतीय उद्योगीहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यतालिका छ । साथै देउवा नेतृत्वको टोलीले तलंगना, आन्द्र प्रदेश र बिहार राज्यको भ्रमण गर्ने कार्यक्रम पनि छ । देउवा नेतृत्वको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अन्य मन्त्रीहरुका साथै सांसदहरु समेत सहभागी हुने पराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।