नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास शुरु

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास शुरु


नेपाली सेना र अमेरिकी सेना बीचमा विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको संयुक्त अभ्यासको निरन्तरताअन्तर्गत आजदेखि नेपाली सेनाको महावीर रेञ्जर रेजिमेन्ट छाउनीमा ‘ब्यालेन्स नेल १७–५५३०’ सञ्चालन भएको छ । उक्त अभ्यास, विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयमा आधारित रही आगामी असोज ०२ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो संयुक्त अभ्यासको लागि मित्रराष्ट्र अमेरिकी सेनाका टोली गत साउन ३२ गते आवश्यक तालिम सामाग्रीसहित नेपाल आएको थियो । यस संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदानप्रदान गर्न सहयोग पुग्नुका साथै मित्रराष्ट्रहरूको सेनासँगसहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्ने नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न विशेष सहयोग पुग्ने बताइएको छ ।