संविधान संशोधन प्रस्ताव अस्वीकृत

संविधान संशोधन प्रस्ताव अस्वीकृत


प्रदेश नम्बर २ को आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाबाट गरिन लागेको छिमेकी भारतको भ्रमणकै संघारमा व्यवस्थापिका संसदमा पेश गरिएको संविधान संशोधनको प्रस्ताव अस्वीकृत भएको छ ।

तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले ल्याएको संशोधन प्रस्ताव पास गर्न आश्यक बहुमतको अभाव अनुमान गर्दागर्दै सरकारले संसदमा प्रस्ताव पेश गरेको थियो । संविधान घोषणा भएको एक वर्षको अवधिमा दोस्रो पटक संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको भए पनि भरमग्दुर प्रयत्नका बाबजुद प्रस्ताव असफल बनेको हो ।

संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न सकेन । संशोधन विधेयक पारित हुन संसदमा तत्काल कायम सदस्य सङ्ख्या ५ सय ९२ को दुई तिहाइ ३ सय ९५ मत हुनुपर्नेमा पक्षमा ३ सय ४७ र विपक्षमा २ सय ६ मत परेको थियो । मतदानमा ५ सय ५३ सांसदले भाग लिएका थिए । विधेयक पारित हुन ४८ मतको कमी भयो ।

संविधान संशोधन विधेयकका पक्षमा नेपाली कांग्रेसका ८२, राष्ट्रिय जनता पार्टीका २५, सङ्घीय समाजवादी फोरम नेपालका १५, नेपाल लोकतान्त्रिक फोरमका १३, नेकपा (संयुक्त)का तीन मत परेको थियो भने अन्य केही साना दलले पनि पक्षमा मतदान गरेका थिए ।

यस्तै, संशोधन विधेयकका विपक्षमा नेकपा (एमाले)का १ सय ८०, राप्रपा (प्रजातान्त्रिक)का १९, नेपाल मजदुर किसान पार्टीका चार, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमोर्चाका तीन, मधेश समता पार्टी–बहुजन शक्ति र बौद्धिक जनतान्त्रिकका एक एक मत परेको थियो । पाँच सांसद भएको नेकपा (माले)ले मतदान बहिष्कार गरेको थियो ।