‘मरता क्या नही करता’ भन्दै प्राध्यापकहरुले थुने भीसी, रेक्टर, रजिष्ट्रार

‘मरता क्या नही करता’ भन्दै प्राध्यापकहरुले थुने भीसी, रेक्टर, रजिष्ट्रार


त्रिविका आन्दोलनरत आंशिक प्राध्यापकहरुले विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई कोठाभित्रै थुनेका छन् । आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै प्राध्यापकहरु गत वैशाख १ गतेदेखि चरणवद्ध आन्दोलन थालेका हुन् ।

यसअघि त्रिविको मुख्य गेटमा अनसन बसेका प्राध्यापकहरुले केही दिनयता प्रधानमन्त्री निवास बालुवटारमा धर्ना दिँदै आएका छन् । आज पनि धर्नाको कार्यक्रम सकेर बल्खु पुगेका उनीहरुले भीसी, रेक्टर, र रजिष्ट्रारलाई थुनेका हुन् ।

आन्दोलनरत प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पस बल्खु परिसरभित्र साढे चार बजेदेखि थुनेर राखेका छन् । ‘जबसम्म हाम्रा माग पूरा हुँदैनन् तबसम्म कार्यकक्षबाट बाहिर जान दिँदैनौं ।’ आंशिक प्राध्यापक संघका अध्यक्ष शशिकुमार शर्माले भने – हामि त ‘मरता क्या नही करता’ को स्थितीमा पुगेका छौं ।

माग सम्बोधनका लागि सरकारलाई दबाव दिने उद्देश्यले गत साउन २६ गते त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेर पठन पाठन ठप्प पारेका छन् ।

यता, कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आंशिक प्राध्यापकहरुको माग सम्बोधनका लागि सकारात्मक भए पनि त्रिवि पदाधिकारीले चासो नदिएको आंशिक प्राध्यापकहरुको आरोप छ । अध्यक्ष शर्माले भने, – ‘कुलपति ज्यूले हाम्रा माग सम्बोधन गर्न भनेर यसअघि नै भनिसक्नु भएको छ । तर टियूका पदाधिकारीले वास्ता गर्नुभएको छैन, उहाँहरुका कारण हम्रो बिच्चली हुने अवस्था आएको छ’ ।