बाढीप्रभावित इलाकामा हेल्प नेपालको सहयोग

बाढीप्रभावित इलाकामा हेल्प नेपालको सहयोग


बाढीका कारण डुबानमा परेका तराईका विभिन्न जिल्लाका बाढीप्रभावित क्षेत्रका बासिन्दाहरुलाई सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले केही दिनयता राहत सामग्रीको व्यवस्था गर्दै पीडितको पीडामा मल्हम लगाउने काम गर्दै आएको छ । गत साउनको अन्तिम सातामा आएको भीषण वर्षाका कारण तराई क्षेत्र बाढीले आक्रान्त छ भने पहाडी इलाका पहिरोका कारण ।

विगत लामो समयदेखि सामाजिक सेवाको कार्यमा निरन्तर जुट्दै आएको सामाजिक सस्था हेल्प नेपालले गत साउन ३१ गतेदेखि बाढीप्रभावित इलाकामा राहत पुर्‍याउँदै आएको छ । हेल्प नेपालले सप्तरीको राजविराजस्थित एक स्थानीय सामाजिक संस्था धर्मी हल्फा महिला विकास केन्द्रको सहकार्यमा जिल्लाका विभिन्न स्थानहरुका बाढी पीडितहरुलाई खाद्यान्न, म्याट्रेस, ओढन र ओछ्याउनसमेत मिल्ने तन्ना, सफाइका सामग्री, बाल्टीन, जग, पानी शुद्ध पार्ने औषधि तथा प्राथमिक उपचारका लागि आवश्यक औषधिहरु राहत सामग्री स्वरुप पीडितहरुलाई उपलब्ध गराएको छ ।

सप्तरीका विभिन्न क्षेत्रहरुमा प्रारम्भीक चरणमा राहत बाँडदै आएको हेल्प नेपालले झापा, मोरङ, सुनसरी र सप्तरी, रौतहट, बारा तथा नवलपरासीका विभिन्न स्थानमा बाढी प्रभावितहरुका लागि राहत सामग्री पठाएको जनाएको छ ।

हेल्प नेपालकी सचिव घिमिरेले झापा, मोरङ, सुनसरी र सप्तरीका ६ वटा स्थानमा हेल्थ क्याम्प पनि संचालन गरेको बताइन् ।

हेल्प नेपालका विपद् व्यवस्थापन संयोजक रवि मानन्धरले बाढी प्रभावित क्षेत्रमा करिब १५ सय बढी परिवारका लागि खाद्यान्न लगायतका सामग्री उपलब्ध गराएको र त्यहाँ अझै माग रहेकोले त्यसको व्यवस्थापनमा आफूहरु लागेको बताए । उनले हेल्प नेपाल नेटवर्कका सहयोगी साथीहरुलाई आवश्यक सहयोग गर्न अपिल पनि गरेका छन् ।

सामाजिक कार्यका लागि मासिक एक डलर सहयोग गरौँ भन्ने भावनाका साथ स्थापित हेल्प नेपाल नेटवर्कलाई देश विदेशमा रहेका दाताहरुबाट सहयोग जुटीरहेको छ ।

हेल्प नेपालले हालसम्म पीडितका लागि जिल्लाका स्थानीय सहयोगी संस्थाहरुको सहयोगमा करिब २४ लाख बराबरको खाद्यान्न, लत्ताकपडा, सफाइ सामग्री र औषधि वितरण गरिसकेको नेटवर्कका कोषाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका ।

हेल्पकी सचिव लता घिमिरेले देश तथा विदेशमा रहेका दाताहरुलाई यो विपद्को घडीमा सहयोगका लागि अनुरोध गर्दै हेल्प नेपाल सम्वन्धी आवश्यक जानकारी संस्थाको वेवसाइट www.helpnepal.net बाट लिन समेत अनुरोध गरिन् ।