सप्तरीमा सर्पको बिगबिगी

सप्तरीमा सर्पको बिगबिगी


सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ ।

पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र नदीमा पानी पसेपछि आफ्नो बासस्थान गुमाएर बगेर आएका सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ ।

खासगरी बाढी प्रभावित जिल्लाको रम्पुरा मल्हनिया, सकरपुरा, मैनाकडेरी, तिलाठीलगायतका ठाउँमा सर्पको बिगबिगी बढेको हनुमानर कंकालनी नगरपालिका–१४ बस्ने चन्दन यादवले बताउनुभयो । राससका अनुसार सो क्षेत्रलगायत जिल्लाको अधिकांश ठाउँमा पनि सर्पले टोक्ने गरेकाले अस्पतालमा पनि दैनिक सर्पदंशकै बिरामी उपचारका लागि आउने गरेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ ।

जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना सर्पदंशको बिरामी आउने गरेका छन् ।