बुहारीलाई पठाएर पूर्वराजा उतै

बुहारीलाई पठाएर पूर्वराजा उतै


आफ्नी जेठी नातिनी पूर्णिका राज्यलक्ष्मी शाहलाई कलेज भर्ना गर्न बैंकक पुग्नुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र अझै केही दिन उतै रहनुहुने बुझिएको छ । नातिनीको कलेज नयाँ भएकोले उनलाई एक्कासि छोड्दा न्यास्रो लाग्ने ठानी पूर्वराजा र रानीले थप केही समय नातिनीलाई दिन चाहनुभएको हो । पूर्वयुवराज्ञी हिमानी भने छोरा हृदयेन्द्र र छोरी कृतिकालाई साथ लिएर काठमाडौं फर्किसक्नुभएको छ । हिमानी मुमा बडामहारानी रत्नको जन्मदिनका लागि चाँडै फर्कनुभएको बताइएको छ । यही भदौ ४ गते मुमा रत्नको जन्मदिन थियो । मुमालाई अत्यन्त आदर गर्नुहुने पूर्वराजाले आमाको जन्मदिनमा आफू आउन नसकेपछि बुहारी हिमानीलाई पठाउनुभएको हो । मुमा रत्न यही वर्षदेखि ९० र्षिमा प्रवेश गर्नुभएको र उहाँको स्वास्थ्य प्रतिकूल हुँदै गएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार पूर्वराजा मुलुकका विभिन्न १२ जिल्लामा गएको बाढीले पु¥याएको धनजनको क्षतिबाट मर्माहत हुनुभएको छ । हिमानी ट्रष्टमार्फत विगतका वर्षहरूमा विपत्का बेला गर्ने गरिएको सहयोग यसपटक पनि गर्न लागिएको छ । हिमानी चाँडै फर्कनुको दोस्रो कारण बाढीपीडितलाई राहत वितरण गर्नुभएको बताइन्छ । भदौ ७ गते बुधबार बिहान साढे आठ बजेको उडानबाट हिमानी र उहाँको टिम सिमरा हुँदै जाने र उहाँले पर्सा जिल्लाको डुबानमा परेका केही गाउँका पाँच सय घरका लागि राहत वितरण गर्ने कार्यक्रम रहेको छ । राहतमा त्रिपाल, चामल, दाल, नुन, तेल, चिउरालगायतका सामग्री रहेका छन् । पूर्वयुवराज्ञी हिमानी राहत वितरणपछि बुधबार बेलुका नै काठमाडौं फर्कने थाहा भएको छ । हिमानी ट्रष्टले केही वर्षअघि दार्चुलामा गएको पहिरो र बाढीबाट प्रभावितका लागि तथा भूकम्पपीडितका लागि पनि यसैगरी सहयोग गरेको थियो ।