गौरिकाको खेलजीवन समाप्त पार्ने षड्यन्त्र

गौरिकाको खेलजीवन समाप्त पार्ने षड्यन्त्र


– श्रीविक्रम भण्डारी

‘सफलता’प्रति इष्र्या गर्नु मानवीय गुण पनि हो, त्यो प्रायः सबैले गर्छन् । त्यसलाई सकारात्मक या नकारात्मक कुन रूपमा आत्मसात् गर्ने त्यो आफूमा भरपर्ने कुरो हो । अर्काले प्लेन चढ्यो भने आफू धुरी चढ्ने दुस्साहस कसैले गर्नुहुँदैन, अन्यथा त्यसको परिणामको भागीदार पनि बन्नुपर्छ । आफू प्लेन चढ्न सक्षम मार्ग के हो ? त्यसको पहिचान गर्न सक्नुपर्छ । मार्ग पहिचान गर्न कुवाको भ्यागुतोजस्तो ट्वारट्वार गरेर मात्रै हुँदैन, बाहिर निस्कनुपर्छ । समयानुकूल परिस्थितिको साँचोमा आफूलाई ढाल्न सक्नुपर्छ । गफ गर्न, कुरा काट्न र आरोप लगाउन जति सजिलो छ, कार्य सम्पादन गर्न त्यति नै गाह्रो छ । त्यसैले गफ गरेर माछा मर्दैन, माछा मार्न नदी, पोखरी धाउनु नै पर्छ । अझ नदी, पोखरी धाएर मात्र माछा मर्दैन, माछा मार्न कडा मिहिनेत पनि गर्नुपर्छ, त्यसपछि मात्र माछा खान पाइन्छ । यो सत्यतासँग नेपाल पौडी सङ्घका पदाधिकारी, त्यस खेलका खेलाडी र अभिभावक राम्रोसँग परिचित छन् । तर, किन विरोधको नाममा विरोध गर्दै पौडी सङ्घलाई विवादमा ल्याउने प्रयत्न गर्दै छन् त्यो अहिले चर्चाको विषय बनेको छ । अर्को कुरा, पौडी सङ्घको एक असन्तुष्ट गुटको उक्साहटमा खेलाडी र अभिभावक त्यसको सिकार हुनुलाई कदापि राम्रो सङ्केत मान्न सकिँदैन । साँढेको जुधाई अर्थात् जुँगाको लडाइँमा खेलाडीलाई बलिको बोको बनाउनु त्यो आफँैमा निन्दनीय कुरा हो । तर, पौडी सङ्घको एक गुटले खेलाडीविरुद्ध खेलाडी र अभिभावकलाई उतारेर जग हँसाउने कार्य गरेको छ । जुन आफैँमा लज्जाजनक छ । जसले भविष्यमा पौडीलाई विवादमा तान्ने पक्का छ ।

यतिबेला नेपालकी चर्चित कीर्तिमानधारी पौडीखेलाडी गौरिका सिंहको खेलजीवन समाप्त गर्न एक गिरोह ज्यान छोडेर लागेको जानकारी प्राप्त भएको छ । उक्त गिरोहले केही पौडीखेलाडी र तिनका अभिभावकलाई उक्साएर गौरिकाको विरुद्धमा पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यलाई ज्ञापनपत्र बुझाएबाट प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । अध्यक्ष बज्राचार्यलाई दिइएको ज्ञापनपत्रमा चर्चित पौडी खेलाडी टिसा शाक्य, सोफिया शाहको नामबाट अभिभावक शान्ति स्थापित र सञ्जय शाहले हस्ताक्षर गरेका छन् । शान्ति स्थापित टिसाकी आमा र सञ्जय सोफियाका बुबा हुन् । प्राप्त जानकारीअनुसार यो ज्ञापनपत्र एक साता पहिले नै तयार पारिएको थियो जसमा अन्य पौडी सङ्घका पदाधिकारी र खेलाडीका अभिभावकले हस्ताक्षर गर्न नमानेपछि अध्यक्षलाई ज्ञापनपत्र नबुझाएको स्रोतको दाबी छ । स्मरणीय कुरा के छ भने यो ज्ञापनपत्रमा चर्चित कीर्तिमानी पौडीखेलाडी शिरीष गुरुङको नाम र उनको अभिभावकको हस्ताक्षर छैन । पौडीका महासचिव जगतमान श्रेष्ठ शिरीषका अभिभावक हुन् । स्रोतले दिएको जानकारीअनुुसार श्रेष्ठकै निर्देशन र अगुवाइमा यो ज्ञापनपत्र तयार भएको हो । तर, शिरीषको नाम किन उक्त ज्ञापनपत्रमा समावेश गरिएन त्यो अहिले रहस्य र खोजीको विषय बनेको छ । शिरीषलाई किन दूधले नुहाएको खेलाडीको रूपमा श्रेष्ठले प्रस्तुत गरे त्यो अन्य अभिभावकले राम्रोसँग बुझ्नुपर्ने जरुरी भइसकेको छ । यसर्थमा कि २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा शिरीषले बिरामी भएको वहानामा प्रतिस्पर्धा गरेका थिएनन् ।

पौडी खेलाडी टिसा शाक्य र सोफिया शाहको नाम राखी अभिभावकद्वय शान्ति स्थापित र सञ्जय शाहले हस्ताक्षर गरेर अध्यक्ष अशोक बज्राचार्यलाई सम्बोधन गरी दिएको ज्ञापनपत्रमा अध्यक्ष श्रेष्ठको आलोचनासहित गौरिका सिंहको उछित्तो काड्दै नकारात्मक टिप्पणी मात्रै गरिएको छ । उक्त ज्ञापनपत्रमा लेखिएको छ– बेलायतमा बसोबास गरिरहेका, हुर्केका र बेलायतमै पौडी प्रशिक्षण लिइरहेकी पौडीखेलाडी गौरिका सिंह जसलाई पौडी सङ्घको अनुकम्पाले अचानक सन् २०१६ को रियो ओलम्पिक खेल्ने सुअवसर प्राप्त भयो । जसले गर्दा हामी यहीँ नेपालमै बसेर वर्षौंदेखि पौडी खेल्न पाउने सीमित समयको (सिजनल पौडीको) कडा मिहिनेत साथ उपयोग गर्दै विभिन्न कठिनाइको समेत सामना गर्दै अन्तर्राष्ट्रिय पौडी जगत्मा पनि केही गर्न सक्ने मौका पाइन्छ कि भन्ने आसमा पौडी खेल्दै आएका, तर हामी नेपाली पौडीखेलाडी र अभिभावकले पाएको दुःखपीडा र निराशातर्फ पनि अध्यक्षको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

त्यस्तै सो ज्ञापनपत्रमा उदीयमान खेलाडी सोफिया शाह ओझेलमा परेकोप्रति दुःख व्यक्त गरिएको छ भने गौरिकाले बेलायतमा हुने आन्तरिक पौडी प्रतियोगितामा कति पदक ल्याइन् र नेपालमा कति वर्ष बसेर पौडी प्रशिक्षण लिइन् र कीर्तिमान बनाइन्– प्रश्न सोधिएको छ । त्यस्तै बेलायतबाट फटेङ्ग्राजस्तो बुरुक्क उफ्रेर दुई–चार दिनका लागि आउने, प्रतियोगिता खेल्ने, नेपाललाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले पौडी विकासका लागि दिएको वाइल्ड कार्डको फल खाने, रमाइलो गर्ने र बेलायत जाने उल्लेख गरिएको छ । साथै विदेशमा बसेर बाह्रै महिना प्रशिक्षण गर्नेसँग तुलनात्मक रूपमा प्रतिस्पर्धा गर्न नसकिने भन्दै बाह्रै महिना सञ्चालन हुने पौडीपोखरीको माग गरिएको छ । त्यस्तै, सो ज्ञापनपत्रमा बाह्रै महिना सञ्चालन हुने अन्तर्राष्ट्रिय पौडीपोखरी नेपालमा निर्माण नहुन्जेलको अवधिभर विदेशमा बस्ने नेपाली पौडीखेलाडीले छोटो समयका लागि नेपाल आई पौडी प्रतियोगितामा भाग लिएकै भरमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनबाट पौडी सङ्घले बन्चित गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै विदेशमा बस्ने यस्ता खेलाडीले गर्दा नेपालमा उत्पादन भएका खेलाडीलाई प्रभाव पार्ने चर्चा गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरूले मात्र अवसर पाउने हुँदा उनलाई प्रशिक्षण गर्ने विदेशी प्रशिक्षक र अफिसियललाई किन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने भनेर प्रश्न गरिएको छ । साथै अवसरवादी कुनै पनि खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुहुँदैन भनेर माग गरिएको छ । त्यस्तै, गौरिकालाई नेपालबाट नभई बेलायतबाट खेल्न भनिएको छ । यस्ता अवसरवादी खेलाडीलाई नेपाल पौडी सङ्घको ढोका सदाका लागि बन्द गर्न अध्यक्षलाई अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा राखिएको ११ बँुदे मागमा नौ नम्बरको बुँदामा गौरिकाको खेलजीवन समाप्त पार्न र उनलाई नेपालबाट खेल्न बन्चित गर्न कुनै कसर बाँकी राखिएको छैन । उक्त ११ नम्बर बुँदामा विदेशमा बस्ने नेपाली पौडीखेलाडीका लागि छुट्टै प्रतियोगिताको व्यवस्था गर्नुपर्ने, उसले बनाएको रेकर्ड राष्ट्रिय रेकर्डमा समावेश गर्न नपाउने, राष्ट्रिय प्रतियोगितामा समावेश हुनका लागि दुई वर्ष नेपालमै बसेर प्रशिक्षण लिएकोलगायत निश्चित मापदण्ड तोकिनुपर्ने र छनोटपश्चात् स्वदेशमै प्रशिक्षण गर्नुपर्ने माग राखिएको छ । साथै यी मागहरू नेपाल पौडी सङ्घको माइन्युट बुकमा समेत उल्लेख गरी चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनसमेत दबाब दिइएको छ ।

ज्ञापनपत्रमा टिसा शाक्य र सोफिया शाहका अभिभावकले हस्ताक्षर गरेर गौरिका सिंहलाई विदेशी खेलाडी भएको प्रमाणित गर्न खोजेको सोझै अड्कल काट्न सकिन्छ । हो, गौरिकाको परिवार बेलायतमा बस्छ, यो शतप्रतिशत सत्य हो । त्यसैले गौरिका पनि बेलायतमै बस्छिन्, यो गौरिका रहर होइन, बाध्यता हो । यसको अर्थ उनीहरू नेपाली होइनन् भन्न कदापि मिल्दैन । किनकि गौरिकाको पासपोर्ट नेपाली छ । एउटा नेपाली भएपछि ऊ जहाँ बसे पनि, उससँग प्रतिभा छ भने एक नेपाली नागरिकको हैसियतले उसले राष्ट्रिय, अन्तर्राष्ट्रिय जुनसुकै प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँछ । यो उसको अधिकारको कुरो पनि हो । त्यसका लागि नेपालमै बसिरहनुपर्ने आवश्यक छैन । त्यो कुरा नेपाली खेलकुदको ऐनको कानुनको कुनै दफा र धारामा पनि उल्लेख गरिएको छैन । यसको अर्थ गौरिकालाई नेपालबाट खेल्न नेपालको कानुनले पनि रोक्न सक्तैन । यस्तो अवस्था र व्यवस्था हुँदाहुँदै पौडी सङ्घको एउटा असन्तुष्ट गुटले आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न खेलाडी र अभिभावकलाई बलिको बोका बनाउनु आफैँमा दुःखको कुरा हो । जसले खेलाडीको भविष्यमा प्रश्नचिह्न लाग्ने सम्भावना पनि उत्तिकै छ । एउटी पौडीखेलाडीको सफलताप्रति अन्य पौडीखेलाडी र अभिभावकले गर्व गर्न सक्नुपर्छ । त्यसपछि मात्रै सम्बन्धित खेल र खेलाडीको विकास र विस्तार हुन्छ । तर, विडम्बना ! सफलताको जलनसँगै पौडी खेलमा खुट्टा तान्ने प्रवृत्ति र राजनीतिको विकास जसरी हावी भइरहेको छ त्यसले पौडी सङ्घलाई पौडीपोखरीमा नडुबाउला भन्न सकिँदैन ।

जसले पौडी सङ्घमा यो बखेडा निकालेर खेलाडी र अभिभावकलाई विवादमा पार्ने कार्य गरेको छ त्यसले पौडी खेलको भलो चाहँदैन भन्दा अतिसयोक्ति नहोला । यसर्थमा कि ओलम्पिकजस्तो खेलकुदको कुम्भमेलामा सर्वोच्च अदालतले अवैधानिक घोषणा गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ‘स्की’ खेलमा नेपालमा कहिल्यै नामै नसुनेको र नदेखेको खेलाडीलाई प्रतिस्पर्धा गराएको चर्चा अहिलेसम्म खेलकुदमा सेलाएको छैन । अहिले ती ‘स्की’ खेलमा नेपालको झन्डा बोकेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडी कहाँ छन् तिनको अत्तोपत्तो छैन । तिनले रहर वा बाध्यता या खेलाडी कुन हैसियतले ओलम्पिकमा सहभागिता जनाएका थिए त्यो पनि बेखबर छ । यस्तो अवस्थामा ती ‘स्की’ खेलाडी थिए कि थिएनन् त्यो पनि एकादेशको कथाजस्तो छ । तर, यहाँ गौरिकामाथि औँला उठाइएको छ । उनको खेलजीवन समाप्त पार्ने घिनौलो षड्यन्त्र गरिएको छ, जुन आफैँमा सर्मनाक छ । जसले यस्तो षड्यन्त्र गरिरहेको छ, ती व्यक्तिले एकपटक जीवनरामलाई गएर सोध्न आवश्यक भएको छ, ‘नेपाली खेलाडीले विदेशमा प्रशिक्षण गरेर खेल्न पाउँछ कि पाउँदैन ?’

जुन खेलाडीका अभिभावकले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ती गरिब परिवारका सदस्य होइनन् । उनीहरूले पनि आफ्ना छोरीलाई विश्वको कुनै पनि कुनामा लगेर वैदेशिक प्रशिक्षण गराउन सक्छन् । टिसा र सोफियालाई गौरिकाभन्दा पनि उत्कृष्ट बनाउन सक्छन् । यसमा अभिभावकलाई कसैले रोकेको छैन । सबैलाई जगजाहेर भएकै कुरा हो टिसा नेपालकै सबैभन्दा महँगो मानिने लिंकन स्कुलमा अध्ययन गर्छिन् । टिसाको वार्षिक अध्ययन खर्च मात्रै २० देखि २५ लाख छ । अर्को कुरा, त्यहाँ १२ महिना सञ्चालन हुने पौडीपोखरी पनि छ । त्यस्तै, सोफिया शाहको जन्म डेनमार्कमा भएको हो । अहिले उनी अध्ययनका लागि संयुक्त राज्य अमेरिकाको भर्जिनिया सहरमा छिन् । सोफियाका बुबा सञ्जय शाह नेपाली हुन् । अब तपार्इं सोझै अड्कल काट्न सक्नुहुन्छ– सोफिया जहाँ बसे पनि उनी नेपाली हुन्, उनीमा प्रतिभा छ भने नेपालबाट खेल्न कसैले पनि रोक्न सक्तैन । त्यसैले गौरिकामाथि विदेशीको जलप लगाएर आफूलाई ‘ठेट’ स्वदेशीको लाहछाप लगाउन खोज्नुको औचित्य के हो ? प्रश्न अभिभावकतिरै तेर्सिएको छ ।

त्यसैले जसरी अहिले गौरिकालाई निशाना बनाउँदै र पौडी सङ्घलाई विवादमा ल्याउन जुन गुट सक्रिय भएको छ, त्यसको पर्दाफास हुनु जरुरी भइसकेको छ । सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले पौडीका कुन पदाधिकारीले धमिलो पानीमा माछा मार्ने कोसिस गर्दै छन्, त्यसको छानबिन गरी बेनकाव गर्ने बेला भइसकेको छ । अन्यथा पौडी सङ्घमा सल्किएको यो भुसको आगो अन्य सङ्घमा सल्किँदै सिङ्गो नेपाली खेलकुदलाई खरानी नबनाउला भन्न सकिँदैन ।