नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानको गम्भीर उल्लंघन गरेका छन् । पार्टीको कार्यबाहक सभापति चयन गर्दा देउवाले विधानको गम्भीर उल्लंघन गरेका हुन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवा यतिबेला भारतको पाँच दिने भ्रमणमा छन् । देउवाले बुधबार बिहान भारत भ्रमणका निम्ति विमानस्थलतर्फ लाग्नुअघि विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
पार्टी-विधानको धारा २४ उपधारा १२ मा लेखिएको छ,‘केन्द्रीय सभापतिले आफु विदेश गएको अवस्थामा उपसभापतिलाई जिम्मेवारी तोक्नेछ ।’ विधानमा यसरी कार्यबाहक सभापतिको चयन बारे स्पष्ट लेखिएको भए पनि देउवाले विधानको पूर्ण अवज्ञा गर्दै नीधिलाई जिम्मेवारी सुम्पेका हुन् ।
उनले पार्टीका वरिष्ठ नेताहरुसँग पनि यस सम्बन्धमा कुनै परामर्श नगरेको बुझिएको छ । देउवाको यस कदमले पार्टीभित्र तीव्र असन्तुष्टी पैदा गरेको छ ।
देउवाले पार्टी नेताहरुसँग कुनै परामर्श नगरी चार जना केन्द्रीय समितिमा सदस्य मनोनयन गरेका छन् भने उनले मनोमानी तवरले अनुशासन समितिको गठन समेत गरेका छन् । रमेश रिजालको संयोजकत्वमा गठन गरिएको अनुशासन समितिमा उमाकान्त चौधरी, सुरेन्द्र पाण्डे, कमला पन्त र हृदयराम थामी सदस्य रहेका छन् ।
देउवाको अधिनायकवादी कार्यशैलीले पार्टी नेताहरुको ठूलो हिस्सालाई क्रुद्ध र असन्तुष्ट बनाएको छ । देउवाको यो कार्यशैलीको प्रतिवाद कसरी हुने हो सो भने स्पष्ट भएको छैन ।
पार्टीमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का लगायत करिब आधि दर्जन निधि भन्दा बरिष्ठ नेताहरु छन् भने महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने नेताहरुमा डा. शेखर कोईराला र खुमबहादुर खड्का छन् ।
देउवाले पदाधिकारी, वरिष्ठ नेता र बढी मत प्राप्त गर्ने सबैको उपेक्षा गरि जुनियर तथा पार्टीमा सर्वअमान्य निधिलाई कार्यबाहक सभापति बनाएका कारण देउवाविरुद्ध कांग्रेस भित्र ठूलो मोर्चाबन्दी हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया