प्रधानमन्त्रीको भ्रमण : नेपालमा चासो, भारतमा केही न केही

प्रधानमन्त्रीको भ्रमण : नेपालमा चासो, भारतमा केही न केही


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोली पैँतालीस सदस्यीय हुने भएको छ । बुधबार (भदौ ७ गते) देखि आगामी आइतबारसम्मको पाँचदिने भ्रमणमा मन्त्रीहरू कृष्णबहादुर महरा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा र जितेन्द्र देव सम्मिलित हुनेछन् । भ्रमण दलमा सांसदहरू एनपी सावद, अजयशङ्कर नायक, ईश्वरी न्यौपाने, अभिषेकप्रताप शाह, उमेश श्रेष्ठ, अनिलकुमार रुङटा, पवनकुमार श्रद्धा, रञ्जित कर्ण र सीताराम भण्डारी पनि सामेल हुनेछन् । प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा, स्वकीय सचिव भानु देउवा, परराष्ट्र सल्लाहकार दिनेश भट्टराई र प्रेस सल्लाहकार गोविन्द परियार तथा नेपाल टेलिभिजन र राससका गरी तीनजना सञ्चारकर्मीलाई पनि सरकारी टोलीमा सामेल गरिएको छ । निजी खर्चमा अन्य केही पत्रकार भ्रमणमा सरिक हुने भएका छन् भने भ्रमण दलमा सामेल हुन तेह्रजना व्यापारीको नाम प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।

प्रधानमन्त्रीका रूपमा छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्ने अवसर शेरबहादुर देउवालाई तेह्र वर्षपछि पुनः आएको छ । वि.सं. ०६१ सालमा राजाबाट प्रधानमन्त्री नियुक्त भएपछि उहाँ नयाँदिल्लीको भ्रमणमा जानुहुँदा नयाँदिल्लीमा देउवाको भव्य स्वागत भएको थियो र सडक तथा चोकहरूमा नेपाल तथा भारतको राष्ट्रिय झण्डा र दुवै देशका प्रधानमन्त्री (मनमोहन सिंह र शेरबहादुर देउवा) हरूको तस्बिर टाँगिएका थिए । यसपटक पनि प्रधानमन्त्री देउवाको नयाँदिल्लीमा भव्य स्वागत हुने विश्वास नेपालमा गरिएको छ । तर, दिल्लीस्थित हाम्रा संवाददाताले जनाएअनुसार त्यहाँ नेपालका प्रधानमन्त्रीको भ्रमणप्रति यहाँ अपेक्षा गरिएअनुरूपको उत्साह देखिएको छैन । यो राजकीय भ्रमण द्विपक्षीय सद्भाव र आपसी विश्वास अभिवृद्धिमा केन्द्रित रहने बताइएको छ । मन्त्रिमण्डलको बैठकले शिक्षा, स्वास्थ्य, संस्कृति, व्यापार र भौतिक विकाससँग सम्बन्धित विभिन्न सात एजेण्डा तय गरेको छ । तय गरिएका विषय सम्बद्ध सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

नेपालमा स्थिर सरकार हुने र त्यस्तो सरकारको प्रमुख आफ्नो पूरा कार्यकालमा एक या आवश्यक परे दुईपटकसम्म भारत भ्रमणमा जाने या गएको स्थिति हुन्थ्यो भने भ्रमणप्रति दुवै मुलुकमा ज्यादा चासो हुन सक्थ्यो र त्यस्तो भ्रमणका एजेण्डाहरू विशेष महत्वका हुन सक्थे । यहाँ एक वर्षभित्र दुईपटक प्रधानमन्त्री बदलिने र प्रधानमन्त्री बन्ने व्यक्ति तुरुन्त भारततर्फ लागिहाल्ने परम्पराले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण कर्मकाण्डीय हुन पुगेको छ । त्यसैले नेपालमा प्रधानमन्त्रीको भ्रमणप्रति केही चासो रहने गरेको भए पनि भारतमा जनस्तरले सामान्य चासो पनि नराख्ने, तर सरकारीस्तरले भने औपचारिकतावश केही गर्नैपर्ने अवस्था रहेको छ । सधैँ उस्तै र एकै प्रकारका एजेण्डामा छलफल हुने र एकै प्रकारले विषयलाई सम्बोधन गर्नुपर्ने भएकोले भारतीय उच्च कूटनीतिक तहमा उत्पन्न हुने असहजतालाई अनुमान गर्न सकिन्छ । पुराना सम्झौता र सहमतिको कार्यान्वयन तथा तात्कालिक समस्याहरूको समाधानमा कुनै फड्को मार्ने सफलता देउवालाई प्राप्त भयो भने त्यसैलाई यो भ्रमणको ठूलो उपलब्धि मान्नुपर्ने स्थिति रहेको छ ।