‘कुमारी’का कर्मचारीको स्वास्थ्य जाँच्न नर्भिकको सहयोग

‘कुमारी’का कर्मचारीको स्वास्थ्य जाँच्न नर्भिकको सहयोग


‘स्वास्थ्य नै धन हो’ र राम्रो स्वास्थ्ययुक्त मानव संशाधन सबै संघ संस्था एवम् समाजकै निमित्त अपरिहार्य विषय हो । यस तथ्यप्रति संवेदनशील हुँदै कुमारी बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच स्वस्थ्य जाँच एवम् उपचारसम्बन्धी विषयमा आपसी सहमति गरिएको छ । कुमारी बैंकले आफ्ना कर्मचारी, तिनका पारिवारिक सदस्यहरू एवम्, ग्राहक वर्गको उच्चस्तरीय स्वास्थ्य जाँच गराउने सम्बन्धमा भएको सो सहमतिअनुरुप सुरुमा कुमारी बैंकले पुतलीसडक शाखाका कर्मचारीहरू, तिनका पारिवारिक सदस्यहरू र आफ्ना ग्राहकमध्ये उपस्थित केही गरी करिब ५० जना भन्दा बढी सदस्यहरूको पुतलीसडक शाखामा आज बुधबार एक विशेष स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ । नर्भिकले जनाएअनुसार रोग रोकथाम एवम् रोग सुरुवाती अवस्थामै पत्ता लगाई आफ्ना कर्मचारी एवम् तिनका आफन्तको राम्रो स्वास्थ्य स्थितिको सुनिश्चितता गर्ने अभिप्रायले उक्त शिविरको आयोजना गरिएको थियो ।

आज परीक्षण गरिएका कर्मचारी एवम् अन्य व्यक्तिहरूका लागि कम्तिमा एक सातासम्मका लागि अति विशिष्ट छुटमा थप परीक्षण नर्भिकमा गराउन सक्नेछन् । पुतलीसडक शाखाका अलावा कुमारी बैंकका अन्य शाखाका कर्मचारी, तिनका पारिवारिक सदस्यहरू एवम् ग्राहक वर्गले समेत यो योजनाबाट लाभ लिनसक्ने व्यहोरा बैंकले उल्लेख गरेको छ ।

गत बैशाखदेखि नर्भिक आफ्नो स्तरीय स्वास्थ्य सेवाको २५ औं वर्षमा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यस्ता थप कार्यक्रमहरू गरिँदै जाने निर्णय गरेअनुसार उक्त शिविर सञ्चालन गरिएको र नर्भिकले यसपूर्व विश्व खाद्य कार्यक्रमलिट्टिल एञ्जेल स्कूल, श्रमज्योति कोअपरेटिभ जस्ता संस्थाहरूमा पनि यसखाले शिविर सञ्चालन गरिसकेको छ र अन्य संस्थाहरूसँग हातेमाले गर्दै थुप्रै शिविर गर्ने तरखर गरिरहेको छ ।