कतिसम्म सम्झौता गर्न सक्छन् देउवा ?

कतिसम्म सम्झौता गर्न सक्छन् देउवा ?


– यादव शर्मा
हाल प्रधानमन्त्री रहनुभएका शेरबहादुर देउवाका केही विशिष्ट चरित्र छन् । विषय कति बुझेका हुन्छन् थाहा हुन्न, तर कुनै पनि विषयमा लामो धैर्य राखेर सुन्ने उनको स्वभाव छैन । भूमिका बाँधिएका र घुमाउरो तवरले प्रस्तुत भएका या हुने कुरामा देउवाको रुचि रहँदैन । आफू पनि सीधै बोल्ने र अर्को पक्षबाट पनि त्यस्तै अपेक्षा गर्ने देउवाको मौलिक शैली हो । विवाह हुनुअघि देउवाको व्यवहार मित्रवत् रहने गर्दथ्यो, एकपटक भेटवार्ता भइसकेपछि थोरै मानिस मात्र दोहो¥याएर उनीसँग भेट गर्न रुचि राख्दैनथे, अधिकांश मानिससँग देउवाको मित्रवत् सम्बन्ध स्थापित हुने गर्दथ्यो । अचेल देउवा सायद मित्रवत् सम्बन्धमा विश्वास गर्दैनन्, उनको सम्बन्ध ‘गिभ एन्ड टेक’ फर्मुलामा आधारित छ र उनीसँग निकट रहेकाहरू (परिवारका सदस्य) पनि सोही ‘फर्मुला’मा आधारित रहेर देउवाासँग व्यवहार गर्ने गर्दछन् । कुन मानिस प्राप्तिको चाहनाबाट उद्वेलित भएर आफ्नो समीप आइपुगेको हो र को मानिस सैद्धान्तिक, वैचारिक या मित्रताको धर्म निर्वाह गर्ने कारणले आफ्ना वरिपरि झुम्मिएका हुन् त्यसको जानकारी लिने रुचि देउवामा देखिँदैन ।

म आफैँ पनि ‘मतलबी’ हुँ र कुनै न कुनै ‘मतलब’का कारण मेरा वरिपरि मानिस झुम्मिएका हुन् भन्ने मनोवैज्ञानिक स्थिति देउवामा रहेको महसुस गर्न सकिन्छ । सहज रूपमा प्रस्तुत भएर आफ्नो असहज ‘मतलब’ पूर्ति गर्न देउवा खप्पीस मानिन्छन् । जो–कसैबाट आफ्नो हितको पक्षमा काम लिने, काम लिनका निम्ति जस्तोसुकै वाचाबन्धन गर्ने र काम पट्याइसकेपछि आफूले त्यस क्रममा जाहेर गरेका प्रतिबद्धता भुल्ने मात्र होइन, सम्बन्धित व्यक्तिलाई नै नचिन्ने–बिर्सिने अद्भूत गुणसमेत देउवामा छ । शक्ति र सत्तालाई उच्च प्राथमिकतामा राखेर व्यवहार गर्ने देउवा शक्ति प्राप्तिका निम्ति सदा व्यग्र रहन्छन् र आफ्नो इच्छाप्राप्तिमा सहयोगी बन्न सक्ने जो–कसैसँग जुनसुकै स्तरको सम्झौता गर्न तयार हुन्छन् । शक्ति प्राप्त गर्ने प्रक्रियामा वा प्राप्त गरिसकेको अवस्थामा टिकिरहने कुरामा कतैबाट बाधा उत्पन्न हुन खोजेको अनुभूति भएमा देउवा अत्यन्त गम्भीर हुन्छन् र त्यस्तो बाधा पन्छाउन जस्तोसुकै कदम चाल्न उनी अग्रसर रहन्छन् । आफूलाई निर्णायक धक्का पु¥याउने स्तरको चुनौती नआएसम्म उनी कसैको आलोचना या नकारात्मक टीकाटिप्पणी मात्रलाई ‘रेस्पोन्स’ गर्ने गर्दैनन् । कसैको गाली या आलोचनाले केही बिगार्न सक्दैन भनी ठान्ने देउवा शक्ति कहाँ छ, त्यो कसरी प्राप्त गर्न सकिन्छ र शक्ति प्राप्त गर्न र शक्तिमा रहिरहन क–कसले कसरी बाधा पु¥याउन सक्छन् भन्ने राम्ररी बुझ््छन् र सोहीअनुरूप व्यवहार गर्दछन् ।

सकेसम्म कसैसँग राय बझाउने वा लडभिड गर्ने देउवाको स्वभाव होइन । त्यसैले राजा शक्तिको स्रोतका रूपमा रहँदा देउवाले राजा असन्तुष्ट हुने प्रकारको कुनै कार्य गरेनन्, बरु राजाको आकाङ्क्षा र इसारा बुझेर उनका हरेक इच्छा पूरा गर्ने प्रयास देउवाबाट भइरह्यो । आफूलाई पदमुक्त गर्नेबाहेकको कुनै पनि कुरामा राजासँग देउवाले राय बझाउने काम गरेनन् । राजाका हरेक इच्छा प्रधानमन्त्रीका हैसियतले पूरा गर्दागर्दै पनि राजाले जब उनलाई बर्खास्त गरे, त्यसपछि मात्र देउवा राजासँग भड्किएका र गणतन्त्र स्वीकार गर्न तयार भएका हुन् । ०६३ को परिवर्तनपछि नारायणहिटी राजदरबारको शक्ति कहाँ स¥यो भन्ने ज्ञान देउवालाई राम्रोसँग भएको छ । उक्त शक्तिसँग तालमेल मिलाउन नसकेका कारण पार्टीको बाह्रौँ महाधिवेशनमा सुशील कोइरालालाई पराजित गरेर आफू सभापति बन्न नसकेको ठानेका देउवाले तेह्रौँ महाधिवेशनमा पुरानो ‘कमजोरी’ दोहोरिन दिएनन् । जहाँ, जोसँग, जुनस्तरको सम्झौता गर्नुपर्ने थियो, त्यहाँ तीसँग त्यहीस्तरको सम्झौता गरे र तेह्रौँ महाधिवेशनबाट सभापति चुनिए । प्रधानमन्त्री पद प्राप्तिका निम्ति पनि उनले शक्तिकेन्द्रसँग सम्झौता गरेका हुन् र अब सत्ताको केन्द्रबिन्दुमा रहिरहन पनि देउवाले आफ्नो सम्झौतावादी शैलीलाई निरन्तरता दिएको बुझ्न सकिन्छ । त्यसैले विगतमा राजासँग सम्झौता गरेकै शैली र स्तरमा देउवाले ‘नयाँ शक्तिकेन्द्र’ सँग सम्झौता गरे भने देशको भविष्य के होला भन्ने गम्भीर प्रश्न उठेको छ ।

सामान्य अवस्थामा जो जतिबेला भड्किए पनि त्यसको पर्वाह नगर्ने देउवाले असामान्य स्थितिमा सामान्य व्यवहार गर्ने छैनन् । पहिले प्रधानमन्त्री भएका बेला सांसदहरूको गणितीय खेललाई प्रभावित गरी गिरिजाप्रसाद कोइरालाले आफूलाई विस्थापित गर्ने खेल सुरु गरेपछि देउवाले सांसदहरूसँग ‘अभूतपूर्व’ सम्झौता गरेका थिए । पाजेरो र सुरासुन्दरी काण्ड सांसदहरूसँग सम्झौताकै परिणामका रूपमा प्रकट भएको हो । अहिले प्रत्यक्ष रूपमा माओवादीसँग भएको सम्झौताको परिणामस्वरूप देउवालाई प्रधानमन्त्री पद प्राप्त भएको छ । त्यसैले आफ्नो पुरानो र स्थायी स्वभावअनुसार देउवाले माओवादीलाई ‘खुसी’ राख्न कुनै कसर बाँकी राखेका छैनन् । माओवादीसँगको चुनावी गठबन्धन गर्न र पत्रकार महासङ्घमा माओवादीलाई नेतृत्व सुम्पन्न तयार हुनुको कारण पनि माओवादीलाई खुसी राख्नकै लागि हो भन्ने स्पष्ट भइसकेको छ । माओवादीलाई खुसी राख्ने क्रममा देउवाले पार्टी, प्रजातन्त्र र देशको भविष्यको सरोकार राखेको अनुभूति भइरहेको छैन । यही क्रम जारी रहे देउवाबाट माओवादीलाई थप के–के सुम्पिइने हो, त्यसको अनुमान गर्न सकिँदैन ।

प्रचण्डहरू काङ्ग्रेससँग मिलेर प्राप्त हुने ‘उपलब्धि’को दायरा फराकिलो बनाउँदै जाने नियोजित प्रयासमा छन् । देउवाले माओवादीको नियोजित प्रयासप्रति पनि सरोकार राखेजस्तो देखिँदैन । त्यसैले राजासँग सम्झौता गर्दै जाँदा हिजो काङ्ग्रेस र प्रजातन्त्रले जुन स्थिति व्यहोर्नुपरेको थियो, अहिले माओवादीसँगको ‘दुलर्भ मायाप्रीति’ले काङ्ग्रेस र देशलाई कहाँ पु¥याउने हो, चिन्ता थपिएको छ । यो ‘प्रीति’को पटाक्षेप हुँदा काङ्ग्रेस, प्रजातन्त्र र देशले एउटा पीडादायी पीडा भोग्नुपर्ने निश्चित छ, यसैको प्रतीक्षा गर्नुपर्ने अवस्थामा आमकाङ्ग्रेसजन छन् । गिरिजाप्रसादको आत्मकेन्द्रित सोच–व्यवहारको परिणाम भोगिरहेको काङ्ग्रेसले देउवाको ठीक त्यस्तै सोच–व्यवहारको परिणाम भोग्नुपर्दा काङ्ग्रेस प्रजापरिषद्मा रूपान्तरित हुन सम्भव छ, सायद काङ्ग्रेसले गरिरहेको प्रतीक्षा यसैको हुनुपर्छ ।