‘विकट गाउँमा पनि छिट्टै सञ्चार सुविधा’ : सञ्चारमन्त्री

‘विकट गाउँमा पनि छिट्टै सञ्चार सुविधा’ : सञ्चारमन्त्री


सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले छिट्टै देशभर टेलिफोन सेवालाई स्तरीयतासँगै थप विस्तार गर्ने बताएका छन् । देशका विभिन्न विकट स्थानका बासिन्दाले अझै टेलिफोनबाट वञ्चित रहेको बताउँदै उनले तत्काल सबैमा सञ्चार पहुँच पुर्‍याउने दावी गरे ।

बुधबार सिन्धुपाल्चोकको चौतारामा नेपाली कांग्रेस २ नम्बर क्षेत्रद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बस्नेतले पहुँन नपुगेको ठाउँमा सञ्चार सुविधामा जोड्न पहल सुरु गर्ने बताएका हुन् । ‘अहिलेको युग प्रविधिमा केन्द्रीत छ, त्यसैले सबै जनताले सञ्चार सुविधा पाउनुपर्छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हरेक नागरिक सञ्चारबाट विमुख हुनुहुँदैन ।’ बस्नेतले सञ्चारको पहुँच नभएको व्यक्ति आफ्नो मौलिक हक अधिकारबाट वञ्चित हुने हुँदा सूचनाबाट पनि अलग हुनुपरेको यथार्थ सुनाए । ‘अहिले हातैमा विश्व छ, कहाँ के भइरहेको छ भन्न्ेबारे चाँडै जनतालाई थाहा पाउन थालेका छन्,’ उनले सञ्चारको पहुँच सबैम हुनुपर्ने कारणबारेसमेत बोल्दै भने ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा काँग्रेसको भोट पर्याप्त रहेको बताए । त्यसको संरक्षण मात्रै गर्न सकेमा पनि आगामी प्रदेशिक र संघीय निर्वाचनमा जिल्लाका काँग्रेसले जित हात पार्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिए । फरक प्रसंगमा बोल्दै बस्नेतले जिल्लाको सीमाङ्कनमा एमाले र माओवादीले आफूखुसी ढंगबाट अगाडि खोजेको भन्दै यसले भविष्यमा असर पार्ने बताए ।