टुहुरा पढाउन सवा ३ करोडको अक्षयकोष

टुहुरा पढाउन सवा ३ करोडको अक्षयकोष


किशोर बुढाथोकी/सिन्धुपाल्चोक

अभिभावकविहिन विद्यार्थी पढाउनका लागि स्थापना गरिएको बाल जोखिम न्यूनीकरण अक्षयकोषको रकम सवा तीन करोड रुपैयाँ पुगेको छ । आर्थिक अभावकै कारण शिक्षाको मूलधारमा ल्याउन चुनौति थपिएपछि सुरु गरिएको कोषमा तीन करोड २८ लाख २० हजार ५५ रुपैयाँ पुगेको हो ।

आमा, बाबु गुमाएका विद्यार्थीले आर्थिक अभावकै कारण विद्यालय जानबाट वञ्चित हुने अवस्था रोक्नका लागि स्थापना यो कोष स्थापना गरिएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा टुकी संघ सुनकोशीले सन् २०११ परीक्षणका लागि सुरु गरेको यो कोष प्रभावकारी भएपछि जिल्लैभर विस्तार भएको हो ।
६ वर्षअघि साविक कालिका र ठोकर्पा र फुल्पिङकोट गाविसबाट सुरु गरिएको न्यूनीकरण अक्षयकोषबाट अहिले सात सय १० बालबालिका लाभान्वित भएको टुकी संघले जनाएको छ । तीमध्ये तीन सय ५१ बालक र तीन सय ५९ बालिका छन् । हाल टुकीले कोष वितरणका लागि प्रविधिक सहयोग गर्दै आइरहेको छ । सन् २०११ मा सेभ र टुकीको सहयोगसँगै सम्बद्ध गाविसले आधा रकम कोषमा राखेर अभियानको सुरुआत गरिएको थियो ।

बाल सम्वेदनशील सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको यो अक्षयकोषले जिल्लाका धेरै बालबालिकालाई विद्यालय जाने बाटोसमेत खुलाएको छ । जिल्लामा स्थानीय स्तरमा गाँउ बाल संरक्षण समितिले टुकी संघ सुनकोशीको सहजीकरण सहयोगबाट कोष सञ्चालन निर्देशिका तयार गरी शुरुआत गरिएको थियो । स्थानीय स्तरमा तयार गरिएको निर्देशिकालाई जिल्ला बाल कल्याण समितिले अपनत्व लिई २०७० सालमा जारी गरेपछि जिल्ला भरी कोष सञ्चालनको बाटो खुलेको थियो ।

स्थानीय रुपमा शुरुवात गरिएको कोष गाविसमार्फत बालबालिकाको लागि विनियोजित गरिएको रकमबाट रु १ लाख ५० हजार र टुकीबाट १ लाख ५० हजार गरि जम्मा ३ लाखको अक्षयकोष स्थापना गरिएको थियो । उक्त कोषको ब्याजबाट आमा बाबु गुमाएका बालबालिका छनौट गरि मासिक रुपमा तीन सय रुपैयाँका दरले छात्रवृति वितरण गर्न थालिएको उक्त रकम चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा वितरण गरिन्छ । अनाथ बालबालिकाको लागि लक्षित गरी स्थापित कोष प्रभावकारी भएकोले जिल्ला विकास समितिले अपनत्व लिई सबै गाविसमा कोष स्थापना गर्न पहल गरि हाल जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा कोष स्थापना भएको जिल्ला समन्वय समितिका बरिष्ठ सामाजिक विकास अधिकृत राजुभाइ श्रेष्ठले जानकारी दिए ।

बाबु आमा गुमाएका बालबालिका विशेष गरी धेरै जोखिममा पर्ने सम्भावना भएकाले उनीहरुको शिक्षामा ध्यान दिइ यो कोष सञ्चालन गरिएको हो । अध्ययनका क्रममा एक गाविसमा औसतमा ३६ जनासम्म बालबालिकाले बाबु, आमा वा दुवै गुमाएका र तिनै बालबालिका बालश्रम, होटल मजदुर, यातायात मजदुर र सडक बालबालिका हुन जाने पाइएको थियो । यस्ता बालबालिकाको संरक्षणको लागि सरकारले कुनै पनि संरक्षण र प्रोत्साहन सम्बन्धी योजना नभएकाले स्थानीय निकायमार्फत जोखिम न्यूनीकरण गर्न पहल गरिएको टुकी संघ सुनकोशीका कार्यक्रम अधिकृत महेन्द्र कार्कीले बताए ।

हाल ७ सय १० जना बालबालिका प्रत्यक्ष लाभान्वित भएको र श्रमिक बालबालिकाको संख्या कम गरी जोखिम घटाउन पनि उक्त कोष प्रभावकारी भएको कार्कीको भनाई छ । बालबालिकालाई जोखिमबाट बचाउन यस क्षेत्रमा काम गर्ने सबै संघसंस्थाहरुले कोष विस्तारमा लाग्नुपर्ने कार्की बताउँछन् । २०७२ को विनासकारी भूकम्पले धेरै बालबालिकाले आफ्नो अभिभावक गुमाएका एवं जोखिममा रहेका बालबालिकाको संरक्षण गर्न कोषको रकम बृद्धि गरि ५ लाख पुर्‍याइएको समन्वय समितिका वरिष्ठ सामाजिक विकास अधिकृत श्रेष्ठले बताए । सबै गाउँ र नगरपालिकामा गाभिएका साविक गाविसमध्ये अधिकांशबाट कोषमा पाँच लाख रुपैयाँ राखिएको छ ।


(सिम्बोलिक फोटो गुगलबाट)