पूर्वजानकारी नदिएको भन्दै राजदुतमाथि खनिए परराष्ट्रमन्त्री महरा

पूर्वजानकारी नदिएको भन्दै राजदुतमाथि खनिए परराष्ट्रमन्त्री महरा


वीरेन्द्र केएम (नयाँ दिल्ली)

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भ्रमणको पहिलो दिन भेटघाटको कार्यतालिका थिएन । तर, बुधबार नै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग अनौपचारिक तवरले न्यानो भेटघाट गरे । सर्वत्र चर्चा पाएको यस भेटघाटको पूर्व भेउ नपाएका परराष्ट्रमन्त्री कृष्णबहादुर महरा रनभुल्ल पर्नु स्वभाविक नै थियो । दुई प्रधानमन्त्रीको एकल भेटबारे आफुलाई जानकारी नदिएको भन्दै उनी भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययमाथि खनिए । दिल्लीस्थित सुत्रका अनुसार ‘प्रम देउवा र मोदीबीचको भेट सेड्युलबारे मलाई किन पूर्वजानकारी दिइएन ?’ परराष्ट्रमन्त्री महरा यसरी राजदूत उपाध्यायसँग स्पष्टिकरण माग्ने शैलीमा प्रस्तुत भए । राजदूत उपाध्यायले आफूलाई नै सो भेटबारे जानकारी नभएको जवाफ दिएपछि भने मन्त्री महरा केही ठण्डा बनेका थिए ।

यता, प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच दिल्लीमा आकस्मिक रुपमा एक्लाएक्लै भेटवार्ता मोदीको इच्छाअनुसार भएको जनाइएको छ । भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानका अनुसार मोदीको इच्छाअनुसार उक्त आकस्मिक भेटवार्ता भएको हो ।

बुधबार दिल्ली आएकै दिन मोदीले आकस्मिक रुपमा देउवासँग भेटेका हुन् । भ्रमण तालिकाअनुसार दुई प्रधानमन्त्रीबीच बिहिबार दिउँसो १२ः०० देखि १ः०० बजेसम्म भेटवार्ता हुने कार्यक्रम थियो । होटेल ताजमा भारतीय ब्यापारीहरुको कार्यक्रममा भाग लिन आएका बेला प्रधानले घटना र विचारसंगको कुराकानीमा भने- यो भेट प्रधानमन्त्री मोदीको चाहनाअनुसार भएको हो ।

‘प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्रीले देउवाबीच साँझ ५ बजे वान टु वान भेटवार्ता भएको हो’, प्रधानले भने, ‘आकश्मिक रुपमा प्रधानमन्त्री मोदीले भेट्न चाहनुभएकोले आजै वार्ता भएको हो, तर उहाँहरुबीच के कुराकानी भयो, खुलासा गरिएको छैन ।’

भ्रमण दलमा रहेका मन्त्री जितेन्द्र देवका अनुसार भारतीय प्रधानमन्त्री मोदीको निवास सेभेन रेसकोर्षमा देउवा र मोदीबीच आधा घण्टा कुराकानी भएको थियो ।

कुटनीतिक विज्ञहरूका अनुसार राजकीय भ्रमणका अवसरमा यस्तो आकस्मिक भेट विरलै हुने गर्दछ।

प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भ्रमणकै दिन मोदीसँग भएको वार्ताले निकै महत्व र अर्थ राख्ने जनाए। ‘यसबाट भारतले नेपाललाई निकै महत्व दिएको बुझिन्छ’, उनले भने।

दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीलाई सम्बोधन गरिरहेका देउवा मोदीले भेट्न खोजेको सूचना पाएपछि सम्बोधन छोट्याएर हिँडेका थिए।
मोदीसँगको भेटवार्तापछि प्रधानमन्त्री देउवा भारतीय चेम्बर्स अफ कमर्शले होटल ताजमान सिंहमा आयोजना गरेको कार्यक्रममा बेलुकी साढे सात बजे उपस्थित भए ।

यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक ट्वीट चर्चामा रह्यो । ‘निकट तथा मैत्रीपूर्ण छिमेकी नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न पाउँदा खुसी छु’, मोदीले देउवासँगको भेटको फोटो राख्दै ट्वीटमा भनेका छन्, ‘भोली विस्तारमा वार्ता हुनेछ ।’